एजेन्सी – आउने हप्ता च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनाले बायर्न म्युनिखको सामना गर्दैछ। बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा आउने बुधबार राति हुने खेल बार्सिलोनाका लागि धेरै नै महत्वपूर्ण हुनेछ।
बार्सिलोना उक्त खेल जसरी पनि जित्नै पर्ने दबावमा हुनेछ। च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बायर्नलाई पराजित गर्नै पर्नेछ। पछिल्लो पटक आफ्नो घरेलु मैदानमै पराजित गरेको टीमलाई हराउन बार्सिलोनाका लागि त्यति सहज भने हुने छैन।
च्याम्पियन्स लिगको समूहचरणको खेलमा बायर्नले बार्सिलोनालाई ३-० को गोल अन्तरले पराजित गरेको थियो। हालको अवस्थालाई हेर्दा बार्सिलोना जित निकाल्ने भन्दा पनि खेललाई बराबरीमा रोक्नेमा केन्द्रित हुने देखिन्छ।
यदि यस्तो भए बार्सिलोनाले खेल्नेछ युरोपा लिग
बायर्न र बार्सिलोना च्याम्पियन्स लिगको समूह ‘इ’मा रहेका छन्। बायर्न समूहको पहिलो स्थानमा छ भने बार्सिलोना दोस्रो स्थानमा छ। ५ खेलमा ५ जित निकाल्दै बायर्न नकआउट चरणका लागि छनौट भैसकेको छ। समूहको तेस्रो स्थानमा बेन्फिका रहेको छ। बेन्फिका ७ अंक रहेको बार्सिलोना भन्दा २ अंकले पछाडी छ। बार्सिलोनाले तुलनात्मक रुपमा बलियो टोलीको सामना गर्दा बेन्फिकाले अलि कम्जोर टोलीको सामना गर्नेछ।
च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्ने बार्सिलोनाले बायर्नलाई पराजित गर्नैपर्नेछ। त्यस्तो भएको खण्डमा बार्सिलोना सिधै अर्को चरणमा प्रवेश गर्नेछ। तर यदि बायर्नसँग बराबरी खेलेको खण्डमा पनि अर्को चरणमा प्रवेश गर्ने सम्भावना रहनेछ।
बेन्फिकाले डाइनामो किभसँग हारेको अथवा बराबरी खेलेको खण्डमा बार्सिलोना बायर्नसंग पराजित भएपनि नकआउट चरणमा प्रवेश गर्नेछ। यधपी बार्सिलोना बायर्नसंग हार्छ र बेन्फिका किभसँगको खेलमा जित्छ भने बार्सिलोना च्याम्पियन्स लिगबाट आउट हुनेछ।

