एजेन्सी – ब्राजिलियन भेट्रान मिडफिल्डर रोनाल्डिन्होले च्यारिटी खेलमा ह्याट्रिक प्रहार गरेका छन् । ब्राजिलको स्टेडियो रेइ पेलेमा मंगलबार राति भएको च्यारिटी खेलमा ४१ वर्षीय रोनाल्डिन्होले आफ्नो अद्भुत कला पस्कदै समर्थकमाझ ह्याट्रिक पुरा गरेका हुन् ।
टिम रोनाल्डिन्हो र टिम कार्लिनहसबीचको च्यारिटी खेलमा रोनाल्डिन्होको टोली ५–१ ले विजयी हुन सफल भयो । उनले आफ्नो इन्स्टाग्रामको पोस्टको क्याप्सनमा ‘मेसियोमा २०२१ गेम अफ जोयमा उपस्थित सबैलाई धन्यवाद’ ह्याट्रिक प्रहार गरेको भिडियो शेयर गरेका छन् । च्यारिटी खेलमा रोनाल्डिन्होले रोनाल्डोको छोरासँग खेलेका थिए ।
‘यो कार्यक्रममा सहभागी भए र अर्काेलाई मद्दत गर्न पाउँदा र यति धेरै कलाकारहरु देख्न पाउँदा खुशी लाग्यो, हामी अझै मैदानमा थोरै खेल्न सक्छौं ।’ रोनाल्डिन्होले लेखेका छन् । ब्राजिलका लेजेन्डमध्येका एक रोनाल्डिन्हो ब्राजिलले सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपको उपाधि जित्दा उनी टोलीका महत्वपुर्ण सदस्य थिए ।
मिडफिल्डर रोनाल्डिन्होले ब्राजिलका लागि ९७ खेल खेल्दा ३३ गोल गरेका छन् । रोनाल्डिन्होले क्लब फुटबलमा सबैभन्दा उत्कृष्ट समय क्याटलान क्लब बार्सिलोनामा बिताएका थिए । उनले ५ वर्ष बार्सिलोनामा बिताउँदा दुई स्पेनिस ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए । सोही समयमा उनले बालोन डि ओर अवार्ड जितेका थिए ।
उनले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इटालियन क्लब एसी मिलानबाट पनि व्यवसायिक खेल खेलेका थिए । गत वर्ष उनी नक्कली पासपोर्ट र कागजात बोकेको आरोपमा पाराग्वेमा पक्राउ परेका थिए । झन्डै पाँच महिना जेल बसेपछि उनलाई रिहाई गरिएको थियो ।

