एजेन्सी – डेर क्लासिकर अर्थात जर्मन क्लासिकोमा शनिबार बोरुसिया डर्टमण्डले बायर्न म्युनिखको सामना गर्दैछ। जर्मन बुन्डेसलिगामा निकै पूराना प्रतिद्वन्दी रहेका यी दुई बीच नेपाली समय अनुसार राति २३ बजेर १५ मिनेटमा शुरु हुनेछ।
शनिबार राति हुने खेल दुवै टोलीका लागि धेरै नै महत्वपूर्ण हुनेछ। जुन टोलीले जित्छ, सोहि टोली बुन्डेसलिगाको शिर्ष स्थानमा रहनेछ। हाल बुन्डेसलिगाको शिर्ष स्थानमा छ। बायर्नले १३ खेलबाट ३१ अंक बटुलेको छ। जारी सिजनमा बायर्नले २ खेलमा मात्रै हार बेहोरेको छ।
त्यस्तै डर्टमण्ड भने लिगको दोस्रो स्थानमा रहेको छ। समान १३ खेलबाट डर्टमण्डले ३० अंक बटुलेको छ। जारी सिजनमा डर्टमण्ड ३ खेलमा पराजित भएको छ। डर्टमण्डलाई पराजित गरेको खण्डमा बायर्नले ४ अंकको अग्रता बनाउनेछ भने बराबरी खेलेको खण्डमा १ अंकको आग्रह हुनेछ। त्यस्तै डर्टमण्ड विजयी भएको अवस्थामा भने डर्टमण्डले २ अंकको अग्रता बनाउनेछ।
हालाण्ड भर्सेस लेवान्डोवस्की
शनिबार हुने खेल डर्टमण्ड भर्सेस बायर्न मात्र नभई हालाण्ड भर्सेस लेवान्डोवस्कीको रुपमा पनि रहनेछ। डर्टमण्डका मुख्य खेलाडी रहेका एर्लिङ ब्राउट हालाण्ड र बायर्नका मुख्य खेलाडी रोबर्ट लेवान्डोवस्की बीच गोलको मामलामा प्रतिष्पर्धा हुनेछ।
हालाण्ड र लेवान्डोवस्की दुवै उच्च लयमा छन्। लेवान्डोवस्की लिगको सबै भन्दा बढी गोल गर्ने खेलाडी रहेका छन्। उनले अहिले सम्म १४ गोल गरिसकेका छन्। त्यस्तै हालाण्ड भने लिगमा सबै भन्दा गोल गर्ने दोस्रो खेलाडी रहेका छन्। उनले अहिले सम्म १० गोल गरिसकेका छन्। घाइते भएर केहि खेल गुमाएपनि हालाण्डले गोलको मामलामा लेवान्डोवस्कीलाई टक्कर दिरहेका छन्।
खेल कुन च्यानलमा हेर्ने ?
जर्मन बुन्डेसलिगाका खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्दैनन्। खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल नेपाली समय अनुसार ११ बजेर १५ मिनेटमा सोनी टेन २ मा हेर्न सकिनेछ।