एजेन्सी – सन् २०२१-२२ को सिजन अगाडी बढ्दै गर्दा वेष्ट ह्यामले आफूलाई प्रिमियर लिगको शिर्ष क्लब हो भनेर प्रमाणित गर्न सकिरहेको छ। सिजनका आधा-आधि खेल सकिने क्रममा रहँदा वेष्ट ह्याम लिगको चौंथो स्थानमा छ।
सिजनका १५ खेल खेल्दा वेष्ट ह्यामले ८ जित निकालेको छ भने मात्रै ४ खेलमा हार बेहोरेको छ। त्यस्तै बाँकी ३ खेलमा बराबरी खेलेको छ। १५ खेलबाट २७ अंक बटुलेको वेष्ट ह्यामले यहि लयलाई सिजनको अन्त्य सम्म कायम राखेको खण्डमा वेष्ट ह्यामले शिर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्न पाउनेछ।
ठूला टीम विरुद्ध वेष्ट ह्याम
प्रिमियर लिगमा ठूला मानिएका क्लबहरु माथि समेत वेष्ट ह्याम भारी परिरहेको छ। वेष्ट ह्यामले केहि समय अगाडी लिभरपुललाई हराएको थियो भने शनिबार मात्रै चेल्सी समेत वेष्ट ह्यामसँग हार्न पुग्यो। दुई टोली वेष्ट ह्यामसँग ३-२ को गोल अन्तरले पराजित भएका थिए।
जारी सिजनमा वेष्ट ह्याम म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, वाटफोर्ड र वल्भ्ससँग मात्रै पराजित भएको छ। ठूला क्लबहरु माथि समेत जित निकालिरहेको वेष्ट ह्यामलाई हटाएर शिर्ष चारका पर्नका लागि आर्सनल, टोटेनहाम र म्यानचेस्टर युनाइटेडका लागि धेरै नै कठिन हुने देखिन्छ।
आर्सनल, टोटेनहाम र युनाइटेड क्रमश पाँचौ, छैंठौ र सातौं स्थानमा छन्। आर्सनल र युनाइटेडले वेष्ट ह्याम भन्दा १-१ कम खेल खेल्दा टोटेनहामले दुई खेल कम खेलेको छ।
हालको अवस्थामा वेष्ट ह्यामलाई यदि कसैले शिर्ष चारबाट हटाउन सक्छ भने त्यो टोटेनहाम हो। हुन त सिजनको आधा खेल पनि नसकिएको अवस्थामा वेष्ट ह्याम शिर्ष ४ मा टिकिरहन सक्छ भनेर अनुमान लगाउन त हतार होला। तर असम्भव भने पक्कै छैन।
गएको सिजन पनि वेष्ट ह्यामले शिर्ष चारमा रहन अन्तिम समयसँग संघर्ष गर्नुपरेको थियो। म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सी उपाधिका लागि प्रतिष्पर्धा गरिरहँदा चौंथो स्थानका लागि वेष्ट ह्याम, आर्सनल, टोटेनहाम र युनाइटेड बीच प्रतिष्पर्धा हुनेछ।

