एजेन्सी – मोहम्मद सलाहको लिभरपुलसँगको अहिलेको सम्झौता सकिन डेढ वर्ष बाँकी छ । यस्तोमा इजिप्सियन फरवार्डको भविष्यलाई लिएर क्लबका समर्थकले चासो राख्न थालेका छन् ।
प्रिमियर लिगमा लिभरपुलको उपाधि दौडलाई बलियो बनाउने क्रममा सलाहले जारी सिजनमा पनि उच्च प्रदर्शन गरिरहेका छन् । उनको नयाँ सम्झौताका विषयमा कुनै टुंगो लागिसकेको छैन । तर पनि उनले आफू एनफिल्डमा रहन चाहेको बताउँदै आएका छन् ।
लिभरपुलले सलाहका प्रतिनिधिसँग छलफल गरेपनि कुनै टुंगोमा भने पुग्न नसकेको बताएको छ । ‘मैले पटक पटक भनेको छु । यदि निर्णय म मै निर्भर हुन्छ भने म लिभरपुलमै बस्न चाहन्छु,’ सलाहले भनेका छन्, ‘तर यदि निर्णय व्यवस्थापनको हातमा छ त्यसैले उनीहरुले नै यसको समाधान गर्नुपर्ने हुन्छ ।’
‘नयाँ सम्झौताका लागि सहमति गर्न कुनै समस्या छैन । यो उनीहरुमै निर्भर गर्छ’, उनले भनेका छन्, ‘यदि मुल्य तय हुन्छ भने खेलाडीको आवश्यकता त्यसैबाट बुझ्न सकिन्छ । यदि उनीहरु राख्न चाहन्छन् भने । तर मलाई लाग्छ आर्थिक कारण मात्र त्यसमा छैन ।’
टोलीका प्रशिक्षक, खेलाडी सलाह क्लबमै रहेको हेर्न चाहन्छन् । यी सबै विषयमा क्लब जानकार नै छ ।
सलाहमाथि बार्सिलोनको चासो
चेल्सीबाट समेत खेलेका सलाहले सलाहले यसअघि फिओरेन्टिना र रोमाबाट खेलेका थिए । उनले आफू अन्यत्र जानका लागि पनि तयार रहेको बताएपछि बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले उनीमाथि चासो देखाएका छन् ।
‘जाभी मसँग सम्झौता गर्न इच्छुक रहेको मैले पढें’, उनले भने, ‘बार्सिलोना जस्तो टोलीले म प्रति चासो देखाउँदा स्वभाविक रुपमा त्यसले खुसी बनाउँछ । तर म लिभरपुलमा खुसी छ । हेर्दौ जाउँ भविष्यमा के हुन्छ ।’
उनले अहिलेको समयमा आफूले प्रिमियर लिगलाई नै प्राथमिकता राख्ने पनि बताए । उनले भने, ‘प्रिमियर लिग विश्वकै बलियो लिग हो ।’

