एजेन्सी – लिभरपुलका सुपरस्टार फुटबलर मोहम्मद सलाहले साडियो मानेसँग राम्रो सम्बन्ध रहेको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा सलाहले मानेसँग आफ्नो धेरै अम्रो सम्बन्ध रहेको बताएका हुन्।
इजिप्टको एक मिडियाले सलाहलाई मानेसँग कस्तो सम्बन्ध छ भनेर प्रश्न गर्दा सलाहले मानेसँग राम्रो सम्बन्ध रहेको र बाहिर चर्चा हुने गरे जस्तो दुश्मनी नरहेको स्पष्ट पारे। विभिन्न समयमा आफूहरु बीच मनमुटाब रहेको जस्तो देखिएपनि त्यस्तो केहि नरहेको सलाहले बताए। माने र आफू दुवै क्लबका लागि सबै कुरा दिने खेलाडी रहेको सलाहको भनाई छ।
“साडियो [माने] संग मेरो सम्बन्ध? हामी पिच र लकर रुमका साथीहरू हौँ। हामी बीच व्यावसायिक सम्बन्ध छ। हामी दुवै टीमलाई जिताउन सबै कुरा दिन्छौं।”,माने र आफ्नो सम्बन्ध बारे चर्चा गर्दै सलाहले भने।
सलाहले आफूहरु बीच प्रतिष्पर्धा रहेपनि नराम्रो सम्बन्ध नरहेको बताए। जुनै पनि टीममा खेलाडी बीच प्रतिष्पर्धा हुने र त्यसलाई सकारात्मक रुपमा लिइनुपर्ने सलाहको भनाई छ। आफूहरु बीच जे जस्तो प्रतिष्पर्धा रहेपनि अन्त्यमा आफूहरु क्लबको सेवामा हुने सलाह बताउँछन्।
उनले भने,”हामी बीच को उत्कृष्ट भन्ने प्रतिष्पर्धा होला। तर अन्त्यमा हामी दुवै क्लबको सेवामा हुन्छौं। प्रतिष्पर्धा जुनै पनि टोलीमा हुन्छ। प्रतिष्पर्धा गर्नु खेलाडीको वैध अधिकार पनि हो।”
त्यस्तै सो अन्तर्वार्ताका क्रममा सलाहले आफू मानेले गोल गर्दा ईर्ष्या नलाग्ने पनि स्पष्ट पारेका छन्। कहिलेकाहिँ मैदानमा स्वार्थी भएर खेल्ने गरेको स्विकार गर्दै सलाहले मानेले गोल गर्दै कहिले पनि ईर्ष्या नलाग्ने बताए।
“कहिलेकाहीँ म मैदानमा स्वार्थी भएर काम गर्छु। त्यो नियतवश भने होइन। कसैले पनि आफ्नो स्वार्थलाई टोलीको हितभन्दा माथि राख्दैन। एक खेलमा साडियोले रिसाएर मैदान छाडे। त्यसले हामी बीचको सम्बन्धको बारे विभिन्न चर्चा उत्पन्न गराइदियो। तर हामी बीच त्यस्तो केहि नराम्रो छैन। कहिले उनी मलाई असिस्ट दिन्छन्, कहिले म उनलाई दिन्छु।”,सलाहले भने।

