भारतना जागिर खान राजीनामा दिएकी स्वास्थ्यसचिवको राजीनामा स्वीकृत !

काठमाडौं । स्वास्थ्यसचिव डा. पुष्पा चौधरीको राजीनामा स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गरेको हो । तीन महिनाअघि नै संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व स्वास्थ्य संगठनमा जागिरका लागि डा. चौधरीले राजीनामा दिएकी थिइन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कन्ट्रि अफिस भारतका लागि पी–५ लेभलमा जागिर सुनिश्चित भएपछि उनले राजीनामा दिएकी हुन् । तर सरकारले उनको राजीनामा सहजै स्वीकृत गर्न मानेन ।

१७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले राजीनामा अस्वीकृत गर्ने निर्णय गरेपछि डा. चौधरीले पुनः स्वीकृतका लागि अनुरोध गरेकी थिइन् ।

तर, सरकारको पूर्वस्वीकृति नलिएको भन्दै मन्त्रिपरिषद््ले उनको राजीनामा स्वीकृत नगरी झुलाइरहेको थियो । डा. चौधरीले राजीनामा स्वीकृत नहुँदै ३ नोभेम्बरबाट डब्लुएचओमा हाजिर भइसकेकी थिइन् ।

सरकारले अप्ठ्यारोमा पार्ने देखेपछि पटक–पटक राजीनामा स्वीकृत गराउन पहल गरेकी डा. चौधरीले स्वास्थ्यको नेतृत्वमा मन्त्री भानुभक्त ढकाल आएसँगै उनलाई सहजीकरण गरिदिन निवेदन दिएकी थिइन् ।

मन्त्री ढकालकै पहलमा उनको राजीनामा स्वीकृत भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चौधरीको राजीनामा स्वीकृत भएको बताए । गत वर्ष सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि निर्णय विरुद्ध डा. चौधरीले सर्वोेच्चमा रिट हालेकी थिइन् ।

सरकारले सरुवा गर्दा अटेरी गरेर सर्वोच्चबाट स्वास्थ्यमा फर्किएपछि उनको प्रधानमन्त्रीसित दूरी बढेको थियो । सर्वोच्चले उनको नाममा अन्तरिम आदेश दिएपछि उनी स्वास्थ्य मन्त्रालयमै फर्केकी थिइन् । त्यसयता उनलाई स्वास्थ्यमा रहेर काम गर्न निकै गाह्रो भइरहेको थियो । विश्व स्वास्थ्य संगठन भारतमा जागिर मिलेपछि सचिव चौधरीले सरकारलाई हालेको मुद्दा समेत फिर्ता लिएकी थिइन् ।

मुद्दा फिर्ता लिएपछि उनले राजीनामा बुझाएकी हुन् । डा. चौधरीको राजीनामा स्वीकृत भएसँगै अब स्वास्थ्य सचिवको कोटा रिक्त भएको छ । १३ कात्तिकमा राजीनामा बुझाएकी उनी हाल डब्लुएचओ भारतमा कार्यरत छिन् ।

प्रकाशित : शनिबार, माघ ०४, २०७६०२:१६

कानुनी दायरामा नबस्ने स्थानीय तहको बजेट कटौती हुने