एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को समीकरण पूरा भएको छ। च्याम्पियन्स लिगका समूह चरणका सम्पूर्ण खेल सकिएसँगै नकआउट चरणमा प्रवेश गर्ने टोलीहरुको समीकरण पूरा भएको हो।
नकआउट चरणका लागि म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन(पिएसजी), लिभरपुल, एट्लेटिको म्याड्रिड, आयक्स, स्पोर्टिंग सिपि, रियल म्याड्रिड, इन्टर मिलान, बायर्न म्युनिख, बेन्फिका म्यानचेस्टर युनाइटेड, भिल्लारियल, लिल, रेडबुल साल्जवर्ग, युभेन्टस र चेल्सी छनौट भए। दुई-दुई लेग गरी खेलाइएको समूहचरणका खेलहरुमा समूह विजेता र उपविजेता नकआउटका लागि छनौट भएका हुन्।
अन्तिम १६ को ड्र सोमबार हुँदैछ। यसपटक अन्तिम १६ मा गत सिजन मात्र सेमिफाइनलमा भिडेका चेल्सी र रियल म्याड्रिड आमने-सामने हुने उच्च सम्भावना देखिन्छ। गत सिजन चेल्सीले रियललाई पराजित भएको थियो।
रियल समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो भने चेल्सी उपविजेताको रुपमा अगाडी बढेको हो। समूह उपविजेताको रुपमा पिएसजी पनि रियलको सम्भावित प्रतिद्वन्द्वी बन्न सक्ने देखिन्छ। भिल्लारियल समेत समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेपछि रियलले चेल्सी वा पिएसजी खेल्नुपर्ने अवस्था बनेको छ।
समग्रमा रियलले अन्तिम १६ मा पिएसजी, चेल्सी, बेन्फिका, साल्जबर्ग वा स्पोर्टिङ लिस्बन मध्य एकसँग खेल्नुपर्ने हुन सक्छ। इन्टर मिलानसँग समूह चरणमा खेलेको कारण रियलले इन्टरसँग खेल्नु पर्दैन।

