काठमाडौँ – फरक राजनीतिक मूल्य, मान्यता र विचार बोकेर राजनीति गरिरहेका दलहरूलाई नेपाली कांग्रेसले आज साझा मञ्चमा उभ्यायो । सन्दर्भ थियो, १४औँ महाधिवेशनको उद्घाटन शत्र ।
काठमाडौँमा चिसो बढिरहेको बेला राजनीतिक विषयमा गरमागरम बहस गर्ने स्थलका रुपमा उपलब्ध मञ्चमा प्रमुख दलका शीर्ष नेताले आआफ्नै शैलीमा धारणा राख्दै सहकार्य, सहमति र एकताको विकल्प नभएको बताउन पछि परेनन् ।
हाँस्यरसले भरिएका घोचपेच पनि उस्तै चल्यो उद्घाटन शत्रमा । राजनीतिक दलप्रति जनतामा वितृष्णा फैलिएको चर्चादेखि एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको प्रसङ्ग पनि कांग्रेस महाधिवेशन उद्घाटन शत्रको अर्को आकर्षणको पाटो बन्यो ।
लामो समयसम्म एउटै मञ्चमा नदेखिएका नेकपा(एमाले)का अध्यक्ष ओली, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको उपस्थिति पनि अर्को महत्वपूर्ण दृश्यका रूपमा महाधिवशेनमा देखियो ।
शुक्रबार कांग्रेसको मञ्च लामो समय देखि एक अर्का विरुद्ध खनिदै आएका नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेस टु फेस भए।
देउवाको दायाँ र बायाँ बसेका दुवै नेताहरुले हँसीमजाक समेत गरे। बीचमा देउवा भए पनि ओली र प्रचण्डले हँसिलो मुद्रामा आपसमा कुराकानी गरिरहेको तस्विर सार्वजनिक भएको छ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बीचमा राखेर गरेको भलाकुसारी फोटो पत्रकारका लागि ‘एक्स्क्लुसिभ’ बन्न पुग्यो। सो तस्विरमा दुवै नेता हँसमुख मुद्रामा देखिएका छन्।