एजेन्सी – लाजियोका प्रशिक्षक माउरिजियो सारीले युरोपा लिगको नकआउट चरणको प्लेअफमा बार्सिलोनासँग खेल्ने इच्छा व्यक्त गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा सारीले युरोप लिगमा बार्सिलोनाको सामना गर्ने इच्छा व्यक्त गरेका हुन्।
स्काई स्पोर्ट्स इटालियासँग कुराकानी गर्दै सारीले बार्सिलोनासँग कहिले पनि खेल्न नपाएको बताए। करियरमा बार्सिलोनासँग कहिले पनि खेल्न नपाएको हुँदा बार्सिलोना विरुद्ध खेल्ने आफ्नो चाहना रहेको सारीको भनाई छ।
“म बार्सिलोनाको सामना गर्न चाहन्छु। किनभने करियरमा मैले कहिले पनि बार्सिलोनाको सामना गरेको छैन। प्रशिक्षकको रुपमा बार्सिलोनाको सामना गर्ने मेरो चाहना छ।”,मनपर्ने युरोपा लिग नकआउट राउन्ड प्रतिद्वन्द्वीका बारेमा प्रश्न गरिँदा सारीले भने।
समूह ‘ई’ मा दोस्रो स्थानमा रहेपछि प्रशिक्षक सारीको सिरी ‘ए’ टोलीले युरोपा लिगको नकआउट चरणको प्लेअफमा भाग लिनुपर्ने भएको छ। यस्तै बार्सिलोना भने च्याम्पियन्स लिगबाट बाहिरिएपछि युरोपा लिगमा आइपुगेको हो।
च्याम्पियन्स लिगको समूहचरणका खेलमा मात्रै २ जित निकालेको बार्सिलोना समूह ‘इ’मा तेस्रो हुँदै च्याम्पियन्स लिगबाट बाहिरिन पुग्यो। यससँगै बार्सिलोना अब युरोपा लिगको नकआउट चरणको प्लेअफमा सहभागी हुनेछ।
बार्सिलोनाका प्रशिक्षक जाभीले युरोपा लिग बार्सिलोनाको लायक नभएपनि उपाधि जित्ने प्रण गरिसकेका छन्। जाभीले च्याम्पियन्स लिगबाट बाहिरिए लगतै उपाधि जित्ने पक्षमा आफूहरु हुने बताएका हुन्।