काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको कार्यकारिणी अधिकार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई दिइनुपर्ने बताएका छन्।
शुक्रबार पार्टीको मधेश प्रदेश समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यादवले कार्यकारिणी प्रत्यक्ष राष्ट्रपतिबाट देशको शासन प्रणाली सञ्चालन गरिनुपर्ने बताए।
मधेश प्रदेश समितिद्वारा आयोजित संगठन विस्तार एवं सुदृढीकरण अभियानको उद्घाटन कार्यक्रममा उनले प्रत्यक्ष निर्वाचित कार्यकारि राष्ट्रपतिको प्रणाली अबलम्बन गरिनुपर्ने धारणा राखे।
यस्तै यादवले संघीयता कागजमै सीमित भएको पनि बताएका छन्। मधेशसहितका अधिकारवादी आन्दोलनपछि संविधानमा लेखिएको संघीयता कागजमै सीमित भएको उनको भनाई छ। “मधेशसहितका अधिकारवादी आन्दोलनका कारण प्राप्त संघीयता कागजमै सीमित हुने भयो”,यादवले भने।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री एवं पार्टीका उपाध्यक्ष लालबाबु राउतले मधेश आन्दोलनसहित विभिन्न अधिकारवादी आन्दोलन स्वायत्त शासन अधिकार सहितको प्रदेश खोजेको बताए।
संविधान संशोधन प्रदेशलाई अधिकार सम्पन्न बनाउन मात्र नभइ सबैलाई समानुपातिक अधिकार प्रदान गर्नुपर्ने उनको भनाई छ।