अन्ततः हालाण्डले छाड्ने भए डर्टमुन्ड, तर युनाइटेड भने कुनै पनि हालतमा नजाने !

एजेन्सी – बोरुसिया डर्टमुन्डका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले आउने समर ट्रान्सफर विन्डोमा क्लब छाड्न सक्ने थाहा हुन आएको छ। विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार हालाण्डले यस सिजनको अन्त्य भएसँगै डर्टमुन्ड छाड्नेछन्।

हालाण्डका एजेन्ट मिनो राइओला आफैंले हालाण्डले समर ट्रान्सफर विन्डोमा क्लब परिवर्तन गर्न सक्ने संकेत गरेको खेल मिडियाहरु बताउँछन्। चर्चित खेल मिडिया ‘गोल’ले आफ्नो समाचारमा उल्लेख गरेअनुसार हालाण्ड सन् २०२२ को समरमा नयाँ क्लबमा हुनेछन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा मिनो राइओलाले हालाण्डले सन् २०२२ को समरमा डर्टमुन्ड छाड्ने उच्च सम्भावना रहेको बताए। सोक्रममा उनले हालाण्ड युरोपका ठूला मध्ये एक क्लबमा हुने स्पष्ट पारे। उनका अनुसार हालाण्ड युनाइटेड जाने कुनै पनि सम्भावना छैन। हालाण्ड यदि प्रिमियर लिग गएको खण्डमा म्यानचेस्टर सिटीमा मात्र जाने राइओलाको भनाई छ।

हालाण्ड बायर्न म्युनिख, रियल म्याड्रिड, बार्सिलोना, म्यानचेस्टर सिटी मध्ये एक क्लबमा जान सक्ने सम्भावना रहेको पनि राइओलाले बताए। गएको पाँच वर्षमा युनाइटेडले भन्दा बढी सिटीले उपाधि जितेका कारण उनी त्यता जान सक्ने राइओला बताउँछन्।

“उनले अर्को कदम चाल्न सक्छन् र चाल्नेछन् पनि। बायर्न, रियल, बार्सिलोना, सिटी- उनी जान सक्ने ठूला क्लब हुन्। सिटीले हालैका वर्षहरूमा पाँच पटक च्याम्पियनसिप जितेको छ, जुन युनाइटेड भन्दा उल्लेखनीय रूपमा बढी छ। त्यसकारण उनी युनाइटेडमा जाने छैनन्।”,राइओलाले भने।

हालाण्डले आउने समरमै क्लब छाड्न सक्ने सम्भावना रहेको राइओलाको भनाई छ। उनले भने,”हुनसक्छ यो समरमा, अथवा त्यो पछिको समरमा हालाण्डले डर्टमुन्ड छाड्नेछन्। तर आउने समरमै उनले डर्टमुन्ड छाड्न सक्नेछन्।”

प्रकाशित : शनिबार, मङि्सर २५, २०७८१५:३०

जाभीको दिर्घकालिन योजनामा ३ खेलाडी, अब कसैले पनि छुन नसक्ने !