नेपली कांग्रेसका नयाँ सभापतिका दाबेदार रहेका विमलेन्द्र निधि दोस्रो चरणको चुनाव भएको खण्डमा आफू प्रधानमन्त्री शेरबहादुर देउबाको साथमा नरहने बताएका छन्। काँग्रेस सभापतिका लागि शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङका साथै निधिको पनि उम्मेदवारी दर्ता भएको छ।
देउबा कै गुटका नेता मानिने निधिले दोस्रो चरणमा देउबाको साथ दिने अनुमान गर्दै आएको भएपनि अन्तत: उनले यसबारे बोल्दै निधिले देउबालाई समर्थन नगर्ने घोषणा गरेका हुन्।
आज आइतबार भृकुटीमण्डपमा पत्रकारसँग कुरा गर्दै निधिले भने, “पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउने सम्भावना छैन। त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुनेछ। त्यसबेला देउवा इतर रहेका हामी सबै एक हुनेछौं।”
देउबा र निधि पहिला एकै गुटमा रहेपनि पछिल्लो समय भने यी दुई बीचको सम्बन्ध खासै राम्रो नरहेको बताइन्छ। देउबाले हाल कृष्णप्रसाद सिटौलासँग तालमेलमा जाने संकेत दिएका छन्। उम्मेदवारी परेका मध्ये प्रकाशमान सिंह र निधिले पदाधिकारीहरुको पूर्ण प्यानल तयार पार्न सकेका छैनन्। जसको कारणले पनि यी दुई नेता चुनावको पहिलो चरणबाट नै आउट हुने सम्भावना उच्च रहेको बताइन्छ। तर निधिले भने पहिलो चरणमा कुनै पनि नेताले ५० प्रतिशत मत ल्याउन नसक्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसको पार्टी विधान अनुसार नयाँ सभापतिका लागि गरिएको चुनावमा सभापतिको उम्मेदवारले कम्तिमा पनि ५० प्रतिशत मत ल्याउनु पर्नेछ। यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन असफल भएको खण्डमा भने पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार बेच दोस्रो चरणको मतदान हुनेछ। पहिलो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ।

