एन्जेल डि मारियाले कसरी पेरिस सेन्ट-जर्मेनका खेलाडीहरूले लियोनेल मेस्सीलाई आफ्नो नयाँ परिवेशमा सहज महशुस गर्न मद्दत गर्नका लागि जे पनि गरिरहेका छन् भनेर खुलाएका छन्। मेस्सी यसै सिजन मात्र बार्सिलोनाबाट नि:शुल्क ट्रान्सफरमा पीएसजी आएका हुन्।
भर्खरै आफ्नो सातौं बालोन डी’ओर जितेका अर्जेन्टिनी सुपरस्टार खेलाडीले फ्रेन्च क्लबमा राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेका छन्। ३४ वर्षीय पूर्व बार्सिलोना कप्तानले नोभेम्बर २० नान्टेस विरुद्धको खेलसम्म पनि आफ्नो पहिलो लिह १ गोल दर्ता गर्न सकेका थिएनन्। तर, मेस्सी बिस्तारै टोलीमा सहज हुँदै गएकोमा डि मारिया विश्वस्त छन् ।
“मलाई लाग्छ कि क्लब ब्रुग विरुद्धको अन्तिम खेलमा हामीले राम्रो गरिरहेको देख्यौं,” डि मारियाले ईएसपीएनलाई भने, “मेस्सीको आगमनले धेरै अपेक्षाहरू हुनु सामान्य हो। मलाई लाग्छ कि मानिसहरूले सधैं ४-० वा ५-० को जितको आशा गर्छन्। फुटबल त्यस्तो होइन। फुटबल बिस्तारै बिस्तारै सुधार हुँदै जाने हो।”
“हामी उनलाई आफ्नो परिवारसँग घरमा खुसी देख्छौं। उनका छोराहरू स्कूलमा छन्। उनको जीवनलाई सजिलो बनाउन सबैजना छन् र उनी समूहमा धेरै राम्रोसँग घुलमिल हुँदै गएका छन् र मलाई लाग्छ, उनी पेरिसको जीवनसँग छिट्टै अनुकूलन भए,” उनले थपे, “तर जब फुटबलको कुरा आउँछ, सबै कुरा बिस्तारै बिस्तारै गरिन्छ। यो उनको लागि ठूलो परिवर्तन हो र उनले नयाँ खेलाडीहरू र पीएसजीमा खेल्ने नयाँ तरिकालाई अनुकूल बनाउनु पर्छ, जुन बार्सिलोनाको पोसेसन आधारित खेल भन्दा छिटो फुटबल रहेको छ। हामी ती सबैलाई थोरै सन्तुलनमा राख्ने प्रयास गर्छौं र उनले पनि यसको ध्यान राख्दै छन्।”

