एजेन्सी – रियल म्याड्रिडका स्टार स्ट्राइकर करिम बेन्जेमाले पेरिस सेन्ट जर्मेन(पिएसजी) विरुद्धको खेलमा उच्च मनोबलसहित खेलेर जित निकाल्ने बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा बेन्जेमाले पिएसजी राम्रो टीम भएपछि उच्च मनोबल सहित खेलेर अगाडी बढ्ने बताएका हुन्।
आरएमसी स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा बेन्जेमाले च्याम्पियन्स लिगका दुवै लेगमा पिएसजीलाई पराजित गरेर अगाडी बढ्ने आफ्नो योजना रहेको सुनाए। च्याम्पियन्स लिगका सबै खेल जित्ने योजना रहेको बेन्जेमाको भनाई छ।
“यो सिजन एकदम शानदार गइरहेको छ। म धेरै नै खुशी छु। हामीले च्याम्पियन्स लिग जित्नका लागि हरेक खेल जित्नुपर्छ। हामीलाई थाहा छ पिएसजी उत्कृष्ट टोली हो। तर पनि हामि जित्न सक्छौं।”,बेन्जेमाले भने।
बेन्जेमाले पिएसजीको खेललाई लिएर आफूहरु सबै उत्साहित रहेको बताए। पहिलो लेगमा जित निकालेर दोस्रो लेगमा पनि जित निकाल्न तर्फ आफूहरुले प्रयास गर्ने बेन्जेमाको भनाई छ।
त्यस्तै बेन्जेमाले आफू खेल जीवनकै उत्कृष्ट अवस्थामा रहेको पनि बताएका छन्। आफूलाई सुधार गरेर लैजाने र हरेक खेलमा जित निकाल्ने पक्षमा आफू हुने बेन्जेमा बताउँछन्।
उनले भने,”सायद म अहिले मेरो खेल जीवनकै उत्कृष्टमा अवस्थामा छु। म पिचमा दिनप्रतिदिन सुधार गर्ने प्रयास गर्छु। रमाइलो गर्ने र मेरो टोलीलाई जिताउन मद्दत गर्ने मेरो चाहना हुन्छ।”

