देशभर बढ्यो चिसो, प्रदूषणबाट पनि जोगिन आग्रह !

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर ठन्डी बढेसँगै विज्ञहरूले चिसो तथा वायु प्रदूषणबाट जोगिन आग्रह गरेका छन्। मौसमविद्ले पश्चिमी न्यून चापीय प्रणालीका कारण शनिबारदेखि चिसो अझै बढ्ने अनुमान गरेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

मौसमविद्का अनुसार चिसोयाममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण (२.५ पिएम) जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, जसले मानव जीवनमा घातक असर पार्न सक्छन्। तर गर्मीयाममा हावाको बहाव बढी हुने भएकाले धुलोका त्यस्ता कण जमिनको सतहबाट निकै माथि उड्छन्।’ चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने भएकाले यसबाट जोगिनुपर्ने वातावरणविद् बताउँछन्।

मौसमविद् प्रतिभा मानन्धरले शनिबारपछि हल्का बदली हुने र चिसो बढ्ने सम्भावना रहेको बताइन्। मौसम पूर्वानुमान महाशाखाले शनिबार पहाडी भूभागको केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

मौसमविद्का अनुसार पुस सुरु भएसँगै चिसो बढेको छ। माघको अन्त्यतिर चिसो क्रमशः घट्दै जान्छ। वातावरणविद् भने हिउँदयाममा त्यसमा पनि बदली भएका बेला प्रदूषण मात्रा बढी हुने र त्यो निकै खतरनाक पनि हुने बताउँछन्। यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्छ।

विज्ञका अनुसार चिसो बढेका बेला विशेषगरी बिहान र बेलुका वायु प्रदूषण बढी हुन्छ। वातावरणविद् तथा वातावरण विभागका शंकर पौडेलले हिउँदमा बदली भएका बेला र हावा कम चलेका बेला प्रदूषण बढ्ने बताए। ‘हिउँदयाममा हावा चल्यो भने त्यति समस्या हुँदैन तर हावा चलेन र बदली भयो भने वायु प्रदूषणको समस्या खतरनाक हुन्छ’, उनले भने।

शीतलहर चलेका बेला वायु प्रदूषण झनै जोखिमपूर्ण हुने विज्ञ भनाइ छ। काठमाडौंजस्तो वरिपरि पहाडले घेरिएको ठाउँमा चिसोयाममा धुलोका मसिना कण गुम्सिएरै हावाभित्र रहने पौडेलको भनाइ छ।

प्रकाशित : शनिबार, पुष ०३, २०७८०९:४३

एक साहसी पर्वतारोहीको कथा विश्वभर चर्चामा !