डर्टमण्डमै अड्किने भए हालाण्ड, धेरै क्लबको सपना चुर-चुर !

एजेन्सी – नर्वेली युवा स्टार एर्लिङ हालाण्डलाई जर्मन क्लब बोरुसिया डर्टमण्डले तत्काल बिक्री नगर्ने भएको छ। यहि विन्टर ट्रान्सफर विन्डोमा हालाण्डले क्लब परिवर्तन गर्ने चर्चा चलिरहेका बेला डर्टमण्डले हालाण्डलाई तत्काल बिक्री गर्ने कुनै पनि योजना नरहेको स्पष्ट पारेको हो।

एक मिडियासँग कुराकानी गर्नेक्रममा डर्टमण्डका खेल निर्देशक माइकल जोर्कले हालाण्डलाई जनवरी ट्रान्सफर विन्डोमा बिक्री गर्ने आफूहरुको योजना नरहेको बताए। जोर्कका अनुसार डर्टमण्डले हालाण्डलाई बिक्री गर्ने कुनै पनि योजना बनाएको छैन।

यस वर्षको अन्तिम खेलमा हर्था बर्लिनसँग पराजित भएपछि हालाण्डले डर्टमण्डको स्टेडियम सिग्नल इडुना पार्कको परिक्रमा गरेका थिए। त्यसक्रममा उनले हात हल्लाउँदै सबैलाई धन्यवाद दिएका थिए। उक्त कार्यपछि हालाण्डले डर्टमण्ड छाड्न लागेको चर्चा शुरु भएको छ।

सो बारे स्काई स्पोर्ट्स जर्मनीसँग कुराकानी गर्नेक्रममा जोर्कले हालाण्डको उक्त कार्यको कुनै खास अर्थ नरहेको बताए। त्यससम्बन्धमा आफूले हालाण्डलाई प्रश्न समेत गरेको जोर्कको भनाई छ। हालाण्डलाई बिक्री गर्नै पर्ने अवस्थामा डर्टमण्ड नरहेको जोर्कको भनाई छ।

“निस्सन्देह उनी बस्नेछन्। अवश्य पनि हामी उनलाई क्लबमै राख्न चाहन्छौं। हामी उनलाई बिक्री गर्नैपर्ने अवस्थामा छैनौँ। आर्थिक कारणले पनि उनलाई बिक्री गर्नु पर्छ भन्ने अवस्था छैन।”,जोर्कले भने।

त्यस्तै जोर्कले हालाण्डसँग क्लब परिवर्तन गर्न सक्ने अवसर रहेको बारे आफूहरु जानकार रहेको पनि बताए। त्यससम्बन्धमा कुरा हुँदै जाने जोर्कको भनाई छ। हालाण्डसँग लामो समय सम्मका लागि सम्झौता रहेका कारण अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको बताउँछन्।

प्रकाशित : आइतबार, पुष ०४, २०७८२२:१३

फेरी चिप्लियो चेल्सी, सिटीको भने धडाधड गोल !