काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोझो भएको बताएका छन्। सोमबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले प्रचण्ड सोझो भएका कारण धोका पाउने गरेको बताएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा अध्यक्ष नेपालले सोझो भएकै कारण केपी शर्मा ओलीलाई प्रचण्डले चिन्न नसकेको बताए। प्रचण्डले कहिले पनि सहमति लागू गराउन ओलीलाई दबाव नदिएको नेपालको भनाई छ।
त्यसक्रममा नेपालले ओलीलाई आफूले धेरै नजिकबाट चिनेको बताए। पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीलाई ‘ज्याद्रो’को संज्ञा दिए। ओली जस्तो ज्याद्रो मानिसलाई प्रचण्डले चिन्न नसकेको नेपालको भनाई छ।
“प्रचण्डले कहिले पनि कुरा उठाउनु भएन, सोझो हुनुभयो । सम्भवत पार्टी एकता भएको धेरै कुरा गर्दा समस्या होला । ओली जस्तो ज्याद्रो मानिसलाई चिन्नै सक्नु भएन । म हत्तु, हैरान भएको मानिस हो। प्रचण्ड अलि सोझो मानिस हुनु हुँदो रहेछ । उहाँले कहिले पनि सहमति लागू गर भनेर भन्नुभएन।”,नेपालले भने।
त्यस्तै नेपालले ओली एक नम्बरको गफाडी भएको पनि बताएका छन्। गफमा ओलीलाई कसैले नसक्ने नेपालको भनाई छ। उनले भने,”केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन। गिजिन बुकमा नाम लेखिदिए हुन्छ । गफाडी नम्बर १, केपी ओली । अरुलाई अपमान, तेजोबोध, र पीडा मात्रै दिने । परपीडक नम्बर १।”