देउवाको स्पष्ट दुई तिहाइ पक्का !

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरूको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो।

मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ। पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवानिकट नेताको पक्षमा परिणाम देखिएको छ। नौ स्थानका लागि भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् भने अन्य आठजना देउवा समूहबाट निर्वाचित भएका छन्।

चार पदका लागि भएको मधेसी महिलामा सबै देउवानिकट निर्वाचित भएका छन्। इतर समूहबाट प्रतिस्पर्धामा उत्रिएकी निवर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन्। उनलाई पछि पार्दै मधेसी महिला समूहबाट मञ्जुकुमारी यादव, नागिना यादव, मुक्ताकुमारी यादव र मीनाक्षी झा निर्वाचित भएका छन्। मुक्ताकुमारीले अहिलेसम्मको सर्वाधिक मत पाएकी छन्।

त्यस्तै मधेसी समूहका पुरुप पाँचमा देउवाइतर समूहबाट उम्मेदवार बनेका चन्द्रमोहन यादव मात्र निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति रामवरण यादवका छोरा यादवबाहेक अजय चौरासिया,दिनेशकुमार यादव,महेन्द्रकुमार यादव र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। व्यवसायी चौधरी पछिल्लो समय कांग्रेसमार्फत राजनीतिमा सक्रिय छन्।

मुस्लिम महिला एक जनासहित तीन पदका लागि भएको निर्वाचनमा जाबेदा खातुन जागा,अब्दुल रञ्जाक र अब्दुल सतार निर्वाचित भएका छन्। उनीहरू तीनैजना देउवा समूहबाट उम्मेदवार बनेका हुन्। वाग्मती र प्रदेश १ मा देउवा र इतर समूहबाट एक÷एकजना निर्वाचित भएका छन्। वाग्मतीबाट ध्यानगोविन्द रञ्जित र राजेन्द्र केसी निर्वाचित भएका छन्।

रञ्जित देउवा र केसी नेता प्रकाशमान सिंहनिकट नेता हुन्। प्रदेश १ बाट अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन्। अर्याल देउवा र कोइराला इतर पक्षबाट उम्मेदवार बनेका थिए।

प्रदेश १ र वाग्मती प्रदेशको महिलातर्फ महिन्द्राकुमारी लिम्बु र उर्मिला नेपाल केसी निर्वाचित भएका छन्। दुवै देउवा समूहबाट उम्मेदवार थिए। कर्णाली प्रदेशबाट देउवा पक्षका दुई नेता निर्वाचित भएका छन्।

निवर्तमान केन्द्रीय सदस्य हृदयराम थानीलाई पछि पार्दै कर्णबहादुर बुढा र राजीवविक्रम शाह निर्वाचित भएका छन्। महिलातर्फ जानकी सिंह निर्वाचित भएकी छन्। त्यस्तै सुदुरपश्चिम प्रदेश महिलमा सुशीला मिश्र भट्ट निर्वाचित भएकी छन्।

प्रकाशित : बुधबार, पुष ०७, २०७८०८:४३

प्रचण्ड र माधव नेपाललाई च्याप्दै देउवा, जसरी पनि एमसिसी पास गराउने दाउ !