एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले लिगको शिर्षस्थानमा रहेको म्यानचेस्टर सिटीलाई पछि पारेर लिग जित्न कठिन भएपनि असम्भव नरहेको बताएका छन्। प्रिमियर लिगमा लेस्टर सिटीको सामना गर्नु अगाडी पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिने क्रममा क्लोपले त्यस्तो बताएका हुन्।
सिटीलाई पछि पार्न एकदमै गार्हो भएपनि सम्भव रहेको क्लोपले बताए। आफूहरु सिटीलाई पछि पर्नकै लागि मिहिनेत गरिरहेको क्लोपको भनाई छ। क्लोपले भने,”मलाई लाग्छ कि यो सम्भव छ। हामीले यहि सोच्नु पर्छ र हामी यसकै लागि यहाँ छौँ।”
क्लोपले क्लबका खेलाडीहरुले निरन्तरता देखाएको र निरन्तरता कायम राखे मात्रै सिटीलाई पछि पार्न सकिने बताए। प्रिमियर लिगमा विश्वका उत्कृष्ट क्लबहरु रहेका कारण सिटीलाई पछि पारेर अगाडी बढ्नु साँच्चै गाह्रो हुने क्लोपको बुझाई छ।
“केटाहरूले देखाएको निरन्तरता अविश्वसनीय छ। र उनीहरुलाई पछि पार्ने यो नै एउटा बाटो हो। विश्वको सबैभन्दा राम्रो टोली भएको लिगमा उनीहरूभन्दा अगाडि हुनु साँच्चै गाह्रो छ।”,क्लोपले भने।
त्यस्तै क्लोपले आफूहरु सिटीलाई पछि पार्न सक्ने अवस्थाबाट बाहिर नरहेको पनि स्पष्ट पारे। सिटीले खासै अंक नगुमाउने हुँदा लिभरपुलले पनि अंक गुमाउन नहुने क्लोपले बताए।
उनले भने,”अहिलेसम्म, कम्तिमा हामी पूर्णतया उनीहरुको पहुँचबाट बाहिर छैनौं। हामीसँग अब कुनै मौका छैन भन्ने अवस्था छैन। सिटीले धेरै अंक गुमाउँदैन। त्यसैले हामीलाई पनि अंक गुमाउने छुट छैन।”

