काठमाडौं । नर्सिङ केयर गिभरमा रोजगारीका लागि जापान जान चाहने २ हजार ३ सय जनाले मार्च सम्ममा परीक्षा दिन पाउने भएका छन् ।
जनवरीमा एक हजार जनाको परीक्षा लिने जापान फाउन्डेसनले मार्चमा थप १३ सय जनाको परीक्षा लिने भएको हो । जनवरिको ७, ८, १४, १६, २१, २३, २८ र २९ तारिखमा एक हजार जनाले र मार्चको ३, ५, ९, ११, १२, १५ र १९ तारिखमा १ हजार ३ सय जनाले परीक्षा दिन पाउने हुन् । परीक्षा केन्द्र युनिभर्सल कम्प्युटर एन्ड ल्यांगवइज इन्स्टिच्युट डिल्लीबजार तोकिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
यसअघि एक हजार जनाले परीक्षा दिइसकेका छन् । रोजगारीका लागि जापान जान चाहने नेपालीको संख्या धेरै भएका कारण जापान फाएन्डेसनले परीक्षामा सहभागी हुनेको कोटा पहिले नै निर्धारण गर्दै आएको छ ।
नेपाल र जापानबीच श्रम समझदारी भएपछि सरकारी तहबाटै जापानमा नर्सिङ क्षेत्रमा कामदार पठाउन छनोट परीक्षा भइरहेको हो । पहिलो चरणमा जापानले नर्सिङ केयरमा मात्रै नेपाली श्रमिक लिने भएको हो । जापान जानका लागि जापानिज भाषा सँगै नर्सिङ अध्ययन गरेका अथवा नर्सिङ केयरको तालिम लिएको हुनुपर्छ । भाषा परीक्षामा सहभागी हुन ए टू लेभलको जापानिज भाषा सिकेको हुनुपर्छ ।
२५० पूर्णाङ्क रहेको परीक्षा उत्तीर्ण गर्न २०० अंक ल्याउनुपर्ने हुन्छ । कम्प्युटरमा आधारिक परीक्षामा सुहभागी हुन २५ सय रुपैयाँ शुल्क लाग्दछ । वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालका अनुसार परीक्षामा उत्तीर्णहरूको थप प्रक्रिया पूरा गरेर मात्रै रोजगारीमा जान पाइन्छ ।