नयाँ शिक्षक नियुक्ति हुन एक वर्ष लाग्ने, सबै तहको विज्ञापन सकियो !

काठमाडौं । शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने भएको छ । शिक्षक सेवा आयोगले तीन तहका शिक्षक पदपूर्ति गर्न १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन पूरा गरेको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

आयोगले बुधबार प्रावि तहको शिक्षकको विज्ञापन गरेको थियो । सो तहमा १३ हजार ९३ शिक्षकको विज्ञापन गरेको हो । प्राविको जिल्ला स्तरबाटै प्रतिस्पर्धा र छनोट गर्ने गरी खुला विज्ञापन गरेको हो । आयोगले १० दिनको अन्तरालमा तीनै तहको शिक्षकको विज्ञापन प्रक्रिया पूरा गरेको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले परीक्षा सकेर स्थायी शिक्षक विद्यालयमा हाजिर हुन करिब आठ महिनाजति लाग्ने दाबी गर्नुभयो । तर उहाँको दाबीलाई साँचो मान्न मुस्किल पर्छ । आयोगले तय गरेको सामान्य परीक्षाको मिति माविको १५, निमाविको १७ र प्राविको १९ गते छ ।

१०० पूर्णाङ्कको सामान्य परीक्षाको परीक्षाफल प्रकाशित हुन करिब तीन महिना लाग्न सक्ने अनुमान आयोगको छ । सो परीक्षामा ५० प्रतिशत उत्तीर्ण अंक ल्याउनैपर्छ । विषयगततर्फको १०० पूर्णाङ्कको परीक्षा दिनुपर्छ । सो परीक्षामा ४० प्रतिशत अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुन्छ ।

‘एउटा परीक्षार्थीले एक तहको शिक्षकको भर्ना हुन दुई विषयमा परीक्षा दिनुपर्ने भएकाले केही ढिलो हुन सक्छ’ –सूचना अधिकारी मरहठ्ठाले नेपाल समाचारपत्रसँग भन्नुभयो । ती परीक्षार्थी दुई परीक्षामा उत्तीर्ण भएपछि विज्ञसहित टोलीको अन्तर्वार्ता लिएपछि बल्ल नियुक्ति प्रक्रिया शुरु हुन्छ ।

यी सबै प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्न सक्ने अनुमान गर्न सकिन्छ । यो वर्ष निर्वाचन पर्ने भएकाले अझै ढिलो हुन सक्ने सम्भावना रहेको छ । आयोगका सूचना अधिकारी मरहठ्ठ भन्नुहुन्छ– ‘हामीले तोकेको समयमा अर्थात् करिब ९ महिनाभित्र नयाँ शिक्षक नियुक्ति प्रक्रिया शुरू गर्ने योजना बनाएका छौं । सोहीअनुसार सम्पूर्ण प्रक्रिया अघि सारेका छौं ।’

प्रकाशित : बिहिबार, पुष १५, २०७८०९:२७

सिटीले बनायो नयाँ कीर्तिमान !