स्पेनिस क्लब बार्सिलोना र उसमाने डेमबेले बीचको सम्झौता थप गर्ने गाथा अब सकिएको विभिन्न रिपोर्टरले जनाएका छन्। गत हप्ताका केहि रिपोर्टहरुका अनुसार फ्रेन्च स्टार खेलाडी बार्सिलोनामा बस्ने तर्फ झुकेका थिए तर अब भरपर्दो पत्रकार जेरार्ड रोमेरोको एक अपडेटको अनुसार भने त्यसको विपरित जानकारी दिएको छ।
रोमेरोका अनुसार डेम्बेलेले बार्सिलोनाको सम्झौता नवीकरणको प्रस्ताव अस्वीकार गरेका छन्। क्लब र खेलाडी बीच यसबारे वार्ता भएता पनि दुई पक्ष सम्झौतामा आउन सकेनन्। करिब पाँच वर्षदेखि बार्सिलोनामा रहेका डेम्बेलेले क्याम्प नोउमा खासै समर्थक कमाएका छैनन्। उसको निरन्तर चोट र पिच बाहिर खराब मनोवृत्ति बीच, यो भन्न उचित हुनसक्छ कि उनी प्रशंसकहरू बीच एक लोकप्रिय व्यक्तित्व कहिल्यै रहेनन्।
बुधबार भएको खेलाडी र क्लब बीचको वार्तामा पूर्व डर्टमण्ड स्टार र उनका एजेन्टले क्लबसँग ४० मिलियन प्रति वर्ष पारिश्रमिक र २० मिलियन नवीकरण बोनस माग गरेका थिए। तर डेमबेलेको यस्तो ठूलो माग क्लब अध्यक्ष जोआन लापोर्टा सिधै अस्विकार गरेको बुझिएको छ। लापोर्टा र जाभी दुबै फ्रेन्च स्टारको ठूलो प्रशंसक रहेपनि उनको माग क्लबले पूरा गर्न नसक्ने स्पष्ट रहेको छ। उनीहरुले लगातार लामो समय देखि खेलाडीलाई क्लबसँग आफ्नो सम्झौता नवीकरण गर्न दबाब दिइरहेका थिए।
यो सिजन, उसमानेले पाँच खेल भन्दा बढी खेलेका छैनन् तर दुई असिस्ट दर्ता गर्न सफल भएका छन्। अवे खेलमा सेभिल्ला विरुद्ध एक अंक प्राप्त गर्न उनले गरेको प्रदर्शनले उनमा भएको क्षमतालाई राम्रोसँग दर्शाउँछ। विश्वकप विजेताको नाम हालै धेरै क्लबहरूसँग जोडिएको छ, विशेषगरी न्यूक्यासल युनाइटेड र युभेन्टससँग।

