एजेन्सी – प्रिमियर लिग क्लब लिड्सका पूर्व गोलकिपर प्याडी केनीले म्यानचेस्टर युनाइटेडमा एकता नदेखिएको टिप्पणी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा केनीले युनाइटेडले एक भएर खेल्न नसकेको टिप्पणी गरेका हुन्।
जारी सिजनमा युनाइटेडका खेलाडीहरु एक टीमको रुपमा खेल्न नसकिरहेको केनीले बताए। युनाइटेडका खेलाडीहरुको अहंकारका कारण सिजनको यो अवस्था सम्म आइपुग्दा युनाइटेडले एक भएर खेल्न नसकेको केनीको भनाई छ।
“मलाई लाग्छ कि खेलाडीहरू पर्याप्त छन्। तर सबै ठीक गइरहेको छैन। त्यहाँ केहि न केहि गलत भइरहेको छ। क्लबमा धेरै अहंकारहरू छन्। पहिला युनाइटेड जे थियो, अहिले त्यो छैन। उनीहरु टिम भन्दा ब्यक्तिगत रुपमा देखिन्छन्। टीममा एकता भन्ने नै देखिँदैन।”,केनीले भने।
त्यसो भनिरहँदा केनीले युनाइटेड र न्युक्यासल बीचको खेललाई उल्लेख गरे। न्यूक्यासल विरुद्धको खेलमा युनाइटेड हार्न सक्ने अवस्थामा थिए भन्ने केनीको बुझाई छ। भाग्यले साथ दिएर मात्र खेल बराबरीमा टुंगिन पुगेको केनीले बताए।
उनले भने,”न्युक्यासल विरुद्धको प्रदर्शन लज्जास्पद थियो। हामी यहाँ एक टोलीको बारेमा कुरा गर्दैछौं जसले सबै सिजन एक पटक मात्र जितेको छ। त्यस्तो टोली विरुद्ध पनि युनाइटेडले भनेजस्तो प्रदर्शन गर्न सकेन। तर त्यो खेलमा भाग्यले साथ दिएर मात्र युनाइटेडले बराबरी खेलेको थियो।”
त्यस्तै केनीले म्यान युनाइटेडका खेलाडीहरुले ऐनामा हेर्नुपर्ने पनि बताए। विश्वको सबैभन्दा ठूलो क्लबमा भएर पनि भनेजस्तो प्रदर्शन गर्न नसक्नुका कारण खेलाडीहरुले आफैं भित्र खोज्नु पर्ने केनीको भनाई छ।

