आज रातिबाट मौसममा व्यापाक परिवर्तन, कम भएको जाडो एकाएक बढ्ने ! अरु के-के होला ?

काठमाडौँ – अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरैजसो भू-भागहरूमा हुस्सुकुहिरो लागिरहेपनि देशका धेरै जस्तो भूभागमा खुलेर घाम लागिरहेको छ। तर पश्चिमी वायुको प्रभावका कारण बुधबारबाट मौसममा केहि परिवर्तन हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँमा वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।मङ्गलवार रातिदेखि नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसले मौसममा परिवर्तन गराउने महाशाखाले जनाएको छ।

महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै बुधबार देखि शनिबार सम्म देशको सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली रहने जानकारी गराएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीका कारण चिसो बढ्ने र हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

महाशाखाको विशेष सूचना निम्न छ –

मौसम पूर्वानुमान महाशाखा

विशेष बुलेटिन ५: हिउँद यामको विशेष मौसम अपडेट ( Special Winter Weather Bulletin 5)

(जारी मितिः २०७८/०९/२० दिउँसो १२: ०० बजे)

आज मंगलवार राती देखि पश्चिमी नेपालबाट प्रबेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बुधबार देखि शनिबार सम्म देशको सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली रहने छ ।

शनिबार सम्म यो प्रणाली देशभर फैलिएर बिशेष गरी सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। आइतबार देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ।

यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८२०:५१

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव; पुन: वर्षा र हिमपात हुने ?