एजेन्सी – बार्सिलोना र रियल म्याड्रिडबीचको प्रतिष्पर्धा नयाँ होइन। यी दुई क्लब गएको १ सय वर्ष भन्दा बढी समय देखि एक अर्कासँग प्रतिष्पर्धा गरिरहेका छन्। घरेलु लिग लालिगामा मात्र नभई युइएफए च्याम्पियन्स लिगमा पनि यी दुई क्लब गएको कयौं वर्ष देखि एकअर्कालाई टक्कर दिरहेका छन्।
गएको दशक यी दुई क्लब बीचको प्रतिष्पर्धा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोका कारण पनि चर्चामा रह्यो। मेस्सी र रोनाल्डो बीचको प्रतिष्पर्धाले दुवै क्लबलाई नयाँ उचाईमा पुर्याएको थियो। तर अहिले मेस्सी र रोनाल्डो दुवै बार्सिलोना र रियलमा छैनन्। दुवै खेलाडी नयाँ चुनौतीलाई स्विकार गरेर अन्यत्र लागिसकेका छन्।
सुपरस्टार खेलाडी बीचको परस्पर प्रतिष्पर्धा नहुँदा बार्सिलोना र रियल बीचको प्रतिष्पर्धा अलि फिक्का बन्दै गएको छ। यी दुई क्लब बीचको प्रतिष्पर्धामा जुन रोमान्चक्ता हुन्थ्यो, त्यो अहिले छैन। पहिला जस्तै रोमान्चक प्रतिष्पर्धा ब्युँताउनको लागि यति बेला दुवै क्लब जुटिरहेका छन्।
पछिल्लो एक खबरलाई मान्ने हो भने पूरानो रोमान्चक ब्युँताउनको लागि बार्सिलोना र रियल म्याड्रिड एक भएर काम गरिरहेका छन्। नर्वेली युवा स्टार एर्लिङ हालाण्डलाई बार्सिलोनामा ल्याण्ड गराएर फ्रान्सेली युवा स्टार किलियन एम्बाप्पेलाई ल्याई रोमान्चक प्रतिष्पर्धा ब्युँताउनको दुवै क्लबको तयारी छ।
रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज आफैंले हालाण्ड बार्सिलोना जाउन् भन्ने चाहेको इएसपिएनका पत्रकार जर्ज रामोसको दावी छ। हालाण्डलाई बार्सिलोनाले अनुबन्ध गर्न सकेको खण्डमा र रियलले एम्बाप्पेलाई भित्र्याउन सकेको खण्डमा दुई क्लब बीचको प्रतिष्पर्धा पहिलाको जस्तो रोमान्चक हुने र त्यसले दुवै क्लबलाई फाइदा पुर्याउने पेरेजको बुझाई रहेको रामोस बताउँछन्।