दुई वर्षदेखि रोकिएका श्रमिक उत्साही, कोरिया जाने बाटो खुल्यो !

काठमाडौं । दुई वर्षदेखि प्रतीक्षामा बसेका नेपाली कामदार दक्षिण कोरिया जान थालेका छन् । कोरोना महामारीका कारण २०७६ फागुनदेखि कोरियामा श्रमिक जान पाएका थिएनन् । कोरोनाको कहर कम भएसँगै कोरिया सरकारले नयाँ कामदार लैजान सुरु गरेको हो । प्रतिबद्ध (पहिला गएर फर्किएका) कामदारलाई भने गत कात्तिकदेखि जान थालेका थिए । कोरियाले केही दिनअघिदेखि नयाँ कामदारलाई प्रवेश अनुमति दिएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

कोरियाले अब प्रत्येक साता श्रमिक लैजाने प्रतिबद्धता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । सोहीअनुसार दुई वटा उडानमार्फत सयभन्दा बढी श्रमिक नयाँ श्रम भिसामा कोरिया पुगिसकेका छन् । विभागका अनुसार अवस्था सामान्य रहेका सातामा करिब दुई सयजना श्रमिक कोरिया जान पाउनेछन् ।

२० महिनापछि नेपाली श्रमिक कोरिया जाने प्रक्रिया १० कात्तिकबाट सुरु भएको थियो । पहिलो चरणमा ४८ जना कमिटेड श्रमिक कोरिया उडेका थिए । दोस्रो चरणमा मंसिर ८ गते ८१ जना कोरिया गए । तेस्रो चरणमा मंसिर २७ गते १ सय २२ जना श्रमिक कोरिया पुगेका छन् । तीमध्ये नयाँ ४६ र ७६ जना कमिटेड छन् । चौथो चरणमा पुस ७ गते १ सय ३८ जना, जसमा कमिटेड ४९ र नयाँ कामदार ८९ जना र पाँचौं चरणमा पुस १९ गते १६९ कोरिया उडेका छन् । जसमा कमिटेड ९६ र नयाँ कामदार ७३ जना नेपाली कामदार कोरिया उडेका छन् ।

कोरियामा पाँच वर्षसम्म एउटै रोजगारदाताकहाँ काम गरेर फेरि त्यहीं काम गर्न जाने गरी फर्किएका कामदारलाई प्रतिबद्ध (कमिटेड) श्रमिक र भाषा परीक्षा पास गरेर श्रम कारर कुरिरहेकालाई ‘नियमित श्रमिक’ भन्ने गरिन्छ । नियमित र प्रतिबद्ध गरेका करिब नौ हजार जना श्रमिक कोरिया जान पाउने आसमा पालो कुरिरहेका छन् । कोरियाले मंसिरदेखि नयाँ श्रमिकलाई लैजान थालेको विभागका महानिर्देशक दीपक काफ्लेले बताए । ‘अब कोरिया कामदार पठाउने विषयमा रहेको अन्योलता अन्त्य भएको छ । नियमित प्रक्रियाबाट जाने प्रतीक्षामा रहेका नौ हजार युवालाई हामी पालैपालो कोरिया पठाउनेछौं’, उनले भने ।

कोरियामा ३३ हजार नेपाली कार्यरत
ईपीएसमार्फत हालसम्म ६६ हजार ७२६ जना नेपाली कामदार कोरिया गएको विभागको तथ्यांक छ । ३३ हजारभन्दा धेरै नेपाली कोरियामा कार्यरत छन् । कोरियाले उत्पादन र कृषि क्षेत्रमा कामदार लैजाने गरेको छ । हालसम्म ५ लाख ८९ हजार ६ सय १८ जनाले कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका छन् । त्यसमध्ये ७७ हजार ३ सय ७७ जनाले भाषा परीक्षा पास गरेका छन् ।

कोरियामा नेपालीले मासिक १ लाख ६० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म पारिश्रमिक पाउने गर्छन् । कोरियाबाट अधिकांश रेमिट्यान्स हुन्डीमार्फत नेपाल भित्रिने गर्छ । दक्षिण कोरियाबाट वार्षिक ३३ अर्बको हाराहारीमा रेमिट्यान्स भित्रिने तथ्यांक छ ।

कुन सालमा कति कोरिया पुगे
नेपालबाट कोरियाले ईपीएसमार्फत २००८ देखि नेपाली कामदार लैजान सुरु गरेको हो । पहिलो वर्ष २ हजार ८ सय १४ नेपाली कोरिया गएका थिए । सन् २००९ मा १ हजार ९ सय ११ कोरिया गए । २०१० मा २ हजार ३ सय ३९ र २०११ मा ३ हजार ९ सय ८३ कामदार गएका थिए ।

यस्तै २०१२ मा ६ हजार ३ सय ३२, २०१३ मा ५ हजार ५६, २०१४ मा ६ हजार २८ र २०१५ मा ५ हजार ८ सय ६६ नेपाली श्रमिक कोरिया गएको तथ्यांक छ । २०१६ मा ८ हजार ७९, २०१७ मा ७ हजार ८ सय, २०१८ मा ८ हजार ५ सय ११, २०१९ मा ७ हजार १ सय सय र २०२० मा १ हजार २७ जना कोरिया गएका छन् । रोजगारीका लागि कोरिया गएकामध्ये हालसम्म १ सय १३ जनाले ज्यान गुमाएका छन् । तिनमा एक महिला र १ सय २२ जना पुरुष छन् । काम गर्ने क्रममा अंगभंग हुनेको संख्या २३ जना रहेको विभागको तथ्यांक छ ।

प्रकाशित : आइतबार, पुष २५, २०७८०९:१५

भीआईपीलाई धमाधम कोरोना ! क-कसलाई कोरोना लाग्यो ?