नायिका आँचल शर्मा फिल्मको कारण होस् अन्तर्वार्तामा बोलेर होस् वा अन्य पनि थुप्रै विषयका कारण समय समयमा चर्चामा आइरहने गरेकी छिन्। यसै कारण पनि सामाजिक सञ्जालमा उनको थुप्रै ट्रोलका साथै मिम पनि बन्ने गरेको छ।
लकडाउनको समयमा पब्जी गेम र टिकटक एपको तुलना गर्दा उनको खुबै मजाक उडाइएको थियो। यसको कारण उनी निकै चर्चामा पनि रहिन्। त्यस्तै, उनी आफ्नो वैवाहिक जीवनका कारण पनि निकै चर्चामा आउने गरेकी छिन्। करिब २ वर्ष अघि डाक्टर उदिप श्रेष्ठसँग विवाह वन्धनमा बाँधीएकी आँचलले विवाह लगत्तैको एक अन्तर्वार्ता पनि आफ्ना श्रीमानलाई बलिउड अभिनेता सलमानसँग तुलना गरेकी थिइन्। सो अभिव्यक्तिलाई लिएर आँचलको जमेर ट्रोल भयो।
यो सम्बन्धि ट्रोल तथा मिम अझ पनि सामाजिक सञ्जालमा थुप्रै देख्न सकिन्छ। आँचलले यस्तो अभिव्यक्ति दिएको २ वर्ष हुन लागेको छ। तर, अहिलेसम्म पनि सलमान र उदिपलाई जोडेर ट्रोल बनाउने अनि रमाउने जमात हटेको छैन। गत डिसेम्बर २७ मा सलमान खानको ५६ औं जन्मदिन परेको थियो। यस दिन सामाजिक सञ्जालमा थुप्रैले उदिपको फोटो राखेर सलमान खानलाई जन्मदिनको शुभकामना दिएका थिए। यस्तोमा अब भने आँचलले पनि यस्ता कार्यलाई सामान्य रहेको भन्दै रमाउन सुरु गरेकी छिन्।
अघिल्लो साता मात्र तेलगु फिल्म “हिटम्यान” को घोषणा कार्यक्रममा एक सञ्चारकर्मीले अभिनेत्रीलाई सोहि विषयमा प्रश्न गरेका थिए। जसमा आँचलले हाँस्दै गज्जबको उत्तर दिएकी थिइन्। उनले भनिन्, “सलमान खान मलाई पहिलेदेखि मनपर्छ। उहाँको काम, बडी सबै निकै मनपर्छ। मैले त्यस्तै बडी भएको हिसाबले मेरो श्रीमान सलमान जस्तै लाग्छ भनेकी थिएँ। श्रीमानको राम्रो मान्छेसँग तुलना हुँदा खुसी लाग्छ।”