२०२१ मा, फुटबल एक खेल मात्र होइन तर एक व्यवसाय हो जहाँ धेरै पैसाको व्यापार हुने गर्छ। वर्षभर आआफ्नो प्रदर्शन तथा विभिन्न चर्चाका कारण थुप्रै खेलाडीहरु इन्टरनेटमा खुबै लोकप्रिय रहेका छन्। यस लेखमा, हामी २०२१ मा गुगलमा सबैभन्दा धेरै खोजिएका पाँच फुटबलरहरूको बारेमा बताउँन जाँदै छौं।
नोट: – नम्बरले औसत मासिक खोजहरू संकेत गर्दछ।
५. क्रिस्टियन एरिक्सन- २०,७०,०००
एरिक्सन गुगलमा सबैभन्दा धेरै खोजिएका फुटबलरहरू मध्ये एक थिए, तर सही कारणले होइन। उनी एक उत्कृष्ट खेलाडी हुन् तर युरो २०२० मा उनलाई भएको हृदयघातका कारण उनी चर्चामा रहे। उनको पतनको तरिका र उनका टोलीका साथीहरू र विपक्षीहरूले परिस्थितिको प्रतिक्रिया जसरी दिए, त्यसले सबैको मन जित्यो।
४. किलियन एम्बाप्पे- २६,२०,०००
पीएसजी स्टार किलियन एम्बाप्पेले गत समरमा ट्रान्सफर बजार निकै तताएका थिए। लामो समय देखि रियल म्याड्रिडसँग नाम जोडिदै आएको फ्रेन्च स्टारलाई अनुबन्ध गर्न स्पेनिस क्लबले पिएसजी सामु २०० मिलियन भन्दा पनि बढीको प्रस्ताव राखेको थियो तर फ्रेन्च क्लबले उक्त प्रस्ताव अस्विकार गर्यो। यसका साथै युरो २०२० मा अन्तिम १६ को खेलमा स्विजरल्याण्ड विरुद्ध निर्णायक पेनाल्टीमा चुकेपछि उनको आलोचना खुबै भएको थियो। यसरी उनी हरेक तरिकाले चर्चाको विषय बनेका थिए।
३. नेयमार- ५०,५०,०००
बार्सिलोनामा हुँदा मेस्सी र रोनाल्डोपछि विश्व कै तेस्रो उत्कृष्ट खेलाडी मानिने ब्राजिलियन स्टारको स्तर सन् २०१७ मा पीएसजी प्रस्थान गरेपछि भने ओरालो लागेको छ। मेस्सी र रोनाल्डोको उत्तराधिकारीको रूपमा हेरिएका नेयमारको करियर चोटग्रस्त रह्यो। तर पनि इन्टरनेटमा भने उनी निकै प्रसिद्ध रहेका छन्।
२. क्रिस्टियानो रोनाल्डो- ७२,४०,०००
युरो २०२० मा कोका-कोला प्रकरणमा निकै चर्चा पाएका रोनाल्डोले प्रतियोगिताको समाप्ती उच्च गोलकर्ताको रूपमा गरे। जसपछि समर ट्रान्सफर विन्डोको अन्तिम दिन इटालियन क्लब युभेन्टसबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड प्रस्थान गर्दा संसार नै हल्लिएको थियो। रोनाल्डोको यस्तो अप्रत्याशित ट्रान्सफरले सामाजिक सञ्जाल तथा पूरै इन्टरनेटमा ठूलो तरंग पैदा गरेको थियो।
१. लियोनल मेस्सी- ९५,१०,०००
यदि गत ट्रान्सफर विन्डोमा रोनाल्डोको ट्रान्सफर भन्दा केहि ठूलो खबर थियो भने त्यो थियो मेस्सीको पीएसजी ट्रान्सफर, विशेषगरी २१ वर्ष बार्सिलोनामा बिताएपछि। समरमा मेस्सीले फाइनलमा ब्राजिल लाई पराजित गर्दै कोपा अमेरिका उपाधिको रूपमा करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जित्दा इन्टरनेटमा भूकम्प नै आएको थियो। त्यति मात्र नभएर बार्सिलोनासँग आफ्नो सम्झौता थप गर्न नसकेपछि क्याटालान क्लब छाड्ने अप्रत्याशित घोषणाले पूरा विश्व नै हल्लाएको थियो।

