विश्राममा रोनाल्डो ! आखिर भएको के हो ?

एजेन्सी – सोमबार राति म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गर्यो। प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई १-०को गोल अन्तरले पराजित गर्दै युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको हो। युनाइटेडलाई स्कट म्याकटोमिनेको गोलले जिताएको थियो।

भिल्ला विरुद्धको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने टोलीमा परेका थिएनन्। रोनाल्डो मांसपेशीमा देखिएको समस्याका कारण टोलीमा नपरेको बताइएको छ। रोनाल्डो केहि दिन देखि असहज महसुस गरेका कारण उनलाई विश्राम दिइएको क्लबका प्रशिक्षक राल्फ रङ्गनिकले बताए।

खेल अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा रङ्गनिकले रोनाल्डोको अवस्था बारे जानकारी गराएका थिए। त्यसक्रममा उनले रोनाल्डो आफैंले असहज महसुस गरिरहेको बताएको उल्लेख गरे।

“मैले हिजो प्रशिक्षण अघि क्रिस्टियानोसँग कुरा गरेको थिएँ र उनले मलाई पछिल्लो दुई दिनमा केही समस्या भएको बताएका थिए।”,रङ्गनिकको भनाई थियो। कम्मरमा समस्या देखिएको अवस्थामा आफूहरुले कुनै जोखिम नलिएको उनको भनाई थियो।

उनले भनेका थिए,”सानो समस्या देखिएको छ। १ सय २० मिनेट सम्म खेल्न पर्न सक्ने खेलमा हामीले जोखिम लिन चाहेनौं। त्यस्तैले उनलाई विश्राम दिइयो।”

त्यस्तै रङ्गनिकका अनुसार रोनाल्डोमा देखिएको समस्या सामान्य हो। कम्मर र कम्मरको मांसपेशीमा देखिएको समस्या केहि दिनमै ठीक हुने उनको भनाई थियो।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१५:४३

सलाह र माने नहुँदा जो चम्किए …