बार्सिलोना र रियल म्याड्रिड भोलि स्पेनिस सुपर कपको सेमिफाइनलमा भिड्ने तयारीमा छन्। खेलअघि बार्सिलोना डिफेन्डर जेरार्ड पिके आफ्नो टोलीले रियल म्याड्रिडलाई पराजित गर्नेमा विश्वस्त रहेका छन्। बार्सिलोना उपाधि जित्न उत्प्रेरित भएको स्पेनियार्डको दाबी छ।
बार्सिलोनाका लागि रियल म्याड्रिड कठिन प्रतिद्वन्दी भएपनि आफ्नो टोलीले म्याड्रिडलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्नेमा पिके विश्वस्त छन्। “यो एक उपाधि हो र हामी सबै यसको लागि समान रूपमा लड्नेछौं, हामीले विगतमा देखाए जस्तै,” सेन्टर ब्याकले भने, “हामीसँग ट्रफी उचाल्ने ठूलो प्रेरणा छ। यो सेमिफाइनल हो, एल क्लासिको, र यो गाह्रो हुनेछ। तर हामी विश्वास गर्छौं कि हामी सकारात्मक मनाशयका साथ आएका छौं। हामी सुधार गर्दैछौं। म आशावादी छु कि हामी राम्रोसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछौं, जित्नेछौं र फाइनलमा पुग्न सक्छौं।”
म्याड्रिड यस सिजनको सुरुवातदेखि नै निकै प्रभावशाली देखिएको छ र हाल २१ खेलमा ४९ अंकसहित लिगा तालिकाको शीर्ष स्थानमा छ। उनीहरूले च्याम्पियन्स लिगको नकआउट चरणमा पनि प्रवेश गरिसकेका छन्, जहाँ उनीहरूले अर्को महिना पीएसजीको सामना गर्नेछन्। जेरार्ड पिकेले लस ब्लान्कोसले उत्कृष्ट प्रदर्शन गर्नुको कारण उनीहरूले यस सिजन आफ्ना मुख्य खेलाडीहरूलाई राख्न सफल भएको बताएका छन्। बार्सिलोनाका स्टारले लस ब्लान्कोस मिडफिल्ड र डिफेन्सका साथै आक्रमणमा करिम बेन्जेमा र भिनिसियस जुनियरबीचको साझेदारीको पनि प्रशंसा गरे।
“[रियल म्याड्रिड] ले बेस कायम राखेको छ जसले उनीहरूलाई विगतमा धेरै सफलता दिएको छ,” सेन्टर ब्याकले टिप्पणी गरे, मिडफिल्ड, कासेमिरो, क्रुस र मोड्रिकले एक-अर्कालाई राम्रोसँग बुझेका छन् र वर्षौं देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। बेन्जेमा र भिनिसियस गोल र खेलको हिसाबले निकै उच्च स्तरमा छन्।”
उनले थपे, “उनीहरूको पछाडि राम्रो डिफेन्स पनि रहेको छ। बार्सिलोनाले रियल म्याड्रिडलाई राम्रोसँग चिनेका छौं र कति उत्कृष्ट टोली छन् तर कसरी हराउनु पर्छ पनि हामीलाई राम्रोसँग थाहा छ।”

