एजेन्सी – ब्राजिलियन लिजेण्ड रिभाल्डोले पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार किलियन एम्बाप्पेलाई तत्कालै क्लब नछाड्न सुझाव दिएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रिभाल्डोले एम्बाप्पेलाई तत्काल क्लब छाडेर रियल म्याड्रिड नजान सुझाव दिएका हुन्।
रिभाल्डोले एम्बाप्पे जनवरी ट्रान्सफर विन्डोमा रियल म्याड्रिड कुनै पनि हालतमा जान नहुने बताए। एम्बाप्पे तत्कालका लागि पिएसजीमै केन्द्रित हुनुपर्ने रिभाल्डोको भनाई छ। सिजनको अन्त्य सम्म पिएसजीमै रहन एम्बाप्पेलाई रिभाल्डोले सुझाव दिए। त्यसक्रममा रिभाल्डोले एम्बाप्पे पिएसजीका लागि च्याम्पियन्स लिग जित्नेमा केन्द्रित हुनुपर्ने भन्न छुटाएनन्।
“मलाई लाग्छ कि एम्बाप्पेले अहिले निर्णयहरू गर्नबाट जोगिनु पर्छ। अहिले उनले आफ्नो क्लबलाई च्याम्पियन्स लिग दिलाउन ध्यान केन्द्रित गर्नुपर्छ।”,रिभाल्डोले भने,”यदि पिएसजीमै रहेर च्याम्पियन्स लिग जित्न सके उनको लागि धेरै राम्रो हुनेछ। पछि क्लब छाडेपनि महत्त्वपूर्ण उपाधि जितेकोमा पिएसजी समर्थकले सधैं सम्झिनेछन्।”
त्यस्तै रिभाल्डोले एम्बाप्पे कुनै न कुनै दिन रियल म्याड्रिडमा हुने ठोकुवा पनि गरे। एम्बाप्पे रियल म्याड्रिडबाट खेल्न धेरै नै लालायित रहेको रिभाल्डो बताउँछन्।
उनले भने,”एम्बाप्पे जसरी पनि रियल जान्छन्। तर अहिले जान्छन् भन्ने मात्रै हो। मेरो सुझाव मान्ने हो भने उनले जसरी पनि सिजनको अन्त्य सम्म पिएसजीमा रहनुपर्छ। एम्बाप्पेका लागि रियलले ५० मिलियन युरो अफर गरिसकेको छ। तर पनि एम्बाप्पेले अहिले नै पिएसजी छाड्नु हुँदैन।”

