काठमाडौं । नेपालीहरूको विशिष्ट पर्व माघेसंक्रान्तिमा उसिनेर खाइने तरुल र विभिन्न प्रकारका कन्दमुलमा पनि नेपाल परनिर्भर रहेको देखिएको छ । माघेसंक्रान्तिका अवसरमा ठूलो मात्रामा कारोबार हुने कन्दमुलमा नेपाल भारतमा निर्भर रहनुपरेको हो । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
माघेसंक्रान्तिलाई लक्षित गरेर व्यापारीहरूले भारतबाट कन्दमुल आयात गरेर बिक्रीवितरण गर्दै आएका छन् । त्यसो त माघेसंक्रान्तिमा खाइने कन्दमुल स्वदेशमा उत्पादन नहुने होइन । पछिल्लो समय कतिपय नेपाली कृषकले तरुल व्यवसायी खेतीका रूपमा समेत गर्ने गरेका छन् । माघेसंक्रान्तिलाई स्वदेशकै उत्पादनले पर्याप्त हुने केही व्यापारीले दाबी गरे पनि भारतबाट समेत ल्याइने गरिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २८ पुसको तथ्यांकअनुसार माघेसंक्रान्तिमा खाइने १० प्रतिशत तरुल भारतबाट आयात भएको छ । यस्तै, सखरखण्ड ५५ प्रतिशत आयात भएको छ ।
कालीमाटी फलफूल तरकारी बजारमा विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले माघेसंक्रान्तिका लागि स्वदेशी उत्पादन तरुल नै पर्याप्त हुँदाहुँदै पनि १० प्रतिशत तरुल भारतबाट आयात भएको बताए ।
सखरखण्ड स्वदेशमा धेरै उत्पादन नहुने हुँदा ५५ प्रतिशत बढी भारतबाट नै आयात हुने गरेको उनले बताए । माघेसंक्रान्तिमा सखरखण्डभन्दा धेरै व्यापार तरुलको हुन्छ ।
सूचना अधिकारी श्रेष्ठले भने, ‘तरुलमा आत्मनिर्भर नै नभए पनि माघेसंक्रान्तिलाई पुग्ने पछिल्लो समय स्वदेशकै उत्पादन छ । तरुल नभई नहुने वस्तु नभएकाले आयात गरेर खानैपर्छ भन्ने छैन । तर, व्यापारीले व्यापार गर्न भारतबाट आयात गर्ने गरेको पाइएको छ ।’
गत वर्ष माघेसंक्रान्ति भारतबाट तरुल खासै आयात भएको थिएन । यो वर्ष भने १० प्रतिशत आयात भएको छ । खानलाई आयातीत तरुलभन्दा स्वदेशी उत्पादन नै राम्रो हुन्छ ।
भारतबाट आयात गर्दा पनि नेपाली बजारको माग आपूर्ति गर्न स्वदेशी उत्पादन नै पर्याप्त भएको उनको भनाइ छ । श्रेष्ठका अनुसार २८ पुससम्ममा भारतबाट ६५ हजार ३ सय १४ किलो तरुल र ७५ हजार ८ सय ६० किलो सखरखण्ड आयात भएको छ ।

