पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार लियोनल मेस्सीलाई उनको परिवारका एक धेरै नजिकका सदस्यले एफसी बार्सिलोना फर्कन “दबाव” दिएको बताइएको छ।
मेस्सी फ्रेन्च क्लबमा गत समरमा प्रस्थान गरेदेखि कुनै प्रकारको खास प्रभाव पार्न सकेका छैनन्। उनले फ्रेन्च लिगमा अहिलेसम्म मात्र एक गोल गर्न सफल भएका छन् भने थुप्रै खेलहरु चोट तथा कोभिड-१९ संक्रमणका कारण गुमाएका छन्। फ्रान्समा मेस्सीको संघर्षको बारेमा धेरै प्रश्नहरू उठ्दै गर्दा मेस्सीकी पत्नी एन्टोनेला रोकुज्जोले अर्जेन्टिनाका सुपरस्टारका लागि मात्र नभएर उनको परिवारका लागि पनि कठिन भएको स्वीकार गरेकी छिन्।
एल नाशिओनलको एक रिपोर्टका अनुसार रोकुज्जो आफ्नो नयाँ घरमा खुसी छैनिन् र बार्सिलोनाको उपनगर, कास्टेलडेफेल्समा फर्कन चाहन्छिन्। मेस्सीको परिवार पेरिसको एक विशेष क्षेत्रमा ठूलो घरमा बसेको भनिए पनि उनीहरू त्यहाँ खुसी भने कतै छैनन्। यसका साथै डरलाग्दो मौसम र भाषा सम्बन्धि समस्याको कारण पनि अर्जेन्टिनी कप्तानको परिवार पेरिसमा अनुकूल हुन सकेका छैनन्।
उक्त रिपोर्टमा थप भनिएको छ कि बार्सिलोना क्याम्पका सदस्यहरूले मेस्सीलाई क्याटलान दिग्गजहरूमा फर्कन आग्रह गरिरहेका छन्, प्रशिक्षक जाभी हर्नान्डेज र अनुभवी फुल-ब्याक ड्यानी आल्भेजले पनि मेस्सीलाई घर फर्किन आग्रह गरेका छन्। मेस्सीको ब्लाउग्राना फिर्ता सनसनीपूर्ण हुने भए पनि सात पटकको बालोन डी’ओर विजेताले तलब कटौती नगरेसम्म यो सम्भव नहुने बुझिएको छ। अर्को कारक ३४-वर्षीय स्टारका बुबा जर्ज र बार्सिलोना अध्यक्ष जोन लापोर्टा बीचको झगडा हो, जसले गर्दा सम्झौतालाई अझ असम्भव बनाउँछ।

