अमेरिका जान खन्याए ३४ लाख, तर अमेरिका नभई पुर्याइयो इथियोपिया !

काठमाडौँ – अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन्। उनीहरू अहिले न्याय पाऊँ भनी प्रहरीको शरणमा पुगेका छन्।

उक्त मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतीमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान मुक्तिनारायण केसी अझै फरार छन्।

अदालतको आदेशले देवकोटा भने पुर्पक्षका लागि जेल चलान भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

उनीहरूविरूद्ध विभिन्न मितिमा दुई पीडित व्यक्तिको जाहेरी परेको थियो। उनीहरूले अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर २७ लाख रुपैयाँ मागेका थिए।

एक पीडितबाट उनीहरूले पटक/पटक गरी १९ लाख रुपैयाँ लिएकोसमेत खुल्न आएको छ। सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पुर्‍याई बोलेभिया हुँदै अमेरिका जाने भनी लगेका थिए। तर विमानस्थलमा पुर्‍याउँदा सेटिङ नमिलेको भनी फर्काए।

उनीहरूले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पुर्‍याई कोठामा साढे तीन महिना बन्धक बनाएको खुल्न आएको छ।

आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाई फर्किएर वि.सं २०७६ कात्तिक २१ गते ब्युरोमा जाहेरी दिएका थिए।

यस्तै उनीहरूले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

उनीहरूले एक व्यक्तिलाई काठमाडौंको स्वयम्भूबाट बसमार्फत भारतको नयाँ दिल्लीमा दुई महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पुर्‍याइएको खुल्न आएको छ।

अमेरिका लैजाने बहानामा त्यहाँ सात महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए। त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो।

विसं २०७६ मंसिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए। उनीबाट ती दम्पतीले रु १५ लाख लिएको समेत खुल्न आएको छ।

सोही आधारमा खोजतलासका क्रममा काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीबाट अघिल्लो महिनामा पक्राउ परेकी देवकोटालाई जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ। केसीको भने खोजी जारी रहेको बताइएको छ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१६:०२

नेप्सेमा उच्च अङ्कको वृद्धि: सबै भन्दा बढी कुन कम्पनीको शेयर बढ्यो ? हेर्नुहोस् !