एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले सुपर-एजेन्ट मिनो राइओलालाई सम्पर्क गरेको छ। बोरुसिया डर्टमन्डका स्टार एर्लिङ हालाण्डको विषयलाई लिएर राइओलासँग सम्पर्क गरेको हो।
हालाण्डको विषयमा जानकारी लिनको लागि बायर्नले राइओलालाई सम्पर्क गरेको स्पोर्ट बिल्डले जनाएको छ। हालाण्डलाई अनुबन्ध गर्न बार्सिलोना, रियल म्याड्रिड जस्ता क्लबले तयारी थालिसकेको अवस्थामा बायर्नले राइओलालाई सम्पर्क गर्नुलाई महत्वका साथ हेरिएको छ।
हालाण्डलाई अनुबन्ध गर्नको लागि युरोपका धेरै क्लबहरुले तयारी थालिसकेका छन्। हालाण्डलाई अनुबन्ध गर्न चाहने क्लबहरुमा बार्सिलोन र रियल म्याड्रिड अगाडी छन्। यी दुई क्लबका अलावा चेल्सी, म्यानचेस्टर सिटी तथा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले पनि हालाण्ड माथि चासो देखाइरहेका छन्। यसबीचमा बायर्नको ध्यान पनि हालाण्ड तर्फ तानिएको छ।
हाल रोबर्ट लेवान्डोस्की बायर्नको मुख्य खेलाडी रहेका छन्। यस्तोमा हालाण्ड बायर्न जाने सम्भावना कम हुन्छ। यस विषयमा पनि बायर्न भित्र छलफल चलिरहेको छ। लेवान्डोस्कीले बायर्नमा दिर्घकालिन सम्झौता चाहेका छन्। हालाण्डलाई अनुबन्ध गर्ने योजनामा लेवान्डोस्कीको दिर्घकालिन सम्झौता बाधक बन्न सक्ने बुझेर नै बायर्नले लेवान्डोस्कीका एजेन्टसँग कुरा अगाडी बढाएको छैन।
बायर्नको कदमले बार्सिलोना र रियललाई तनाव
हालाण्डमा बायर्नको चासो हुनु बार्सिलोना र रियल जस्ता क्लबका लागि समस्या बन्न सक्छ। जर्मनको घरेलु लिगमा स्थापित भइसकेका हालाण्ड बायर्न जान सक्ने सम्भावनालाई नकार्न सकिन्न।
हालाण्ड भित्र्याउनको लागि बार्सिलोनाले एजेन्ट राइओलासँग भेट गरिसकेको छ भने रियल म्याड्रिडले पनि गएको केहि समय देखि आफ्नो तयारीलाई तिब्र बनाएको छ।

