एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले महत्वपूर्ण खेलमा जित निकालेको छ। उपाधि होडमा निर्णायक हुन सक्ने खेलमा सिटीले चेल्सी विरुद्धको खेलमा जित निकालेको हो।
शनिबार राति सिटीको घरेलु मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई १-० ले पराजित गर्यो। निकै प्रतिष्पर्धात्मक बनेको खेलमा सिटीका केभिन डी ब्रुएनले गरेको गोल नै निर्णायक बन्न पुग्यो। खेलभर सिटीले चेल्सी भन्दा राम्रो बलमा पकड बनाएको थियो। बलमा सिटीको ५६ प्रतिशत पकड रह्यो।
खेलभर सिटीको तर्फबाट ११ प्रहार भए। जसमध्ये ६ प्रहार टार्गेटमा थिए। तर चेल्सीको तर्फबाट भने मात्रै ४ प्रहार भएका थिए। त्यसमा मात्र १ प्रहार टार्गेटमा थियो। खेलको पहिलो हाफमा दुवै पक्षबाट कुनै गोल हुन सकेन। तर ७० औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीको जित पक्का गराए।
उपाधि तर्फ अगाडी बढ्दै सिटी
शनिबारको जितसँगै सिटी उपाधि जित्ने तर्फ स्पष्ट रुपमा अगाडी बढेको छ। चेल्सीलाई पराजित गरेपछि सिटीले प्रिमियर लिगमा स्पष्ट १३ अंकको अग्रता बनाएको छ। सिजनमा मात्र दुई पटक पराजित हुँदा सिटीले १८ जित निकालेको छ भने मात्रै दुई खेलमा बराबरी खेलेको छ। सिटीले ५६ अंक बनाइसकेको छ।
त्यस्तै चेल्सी लिगको दोस्रो स्थानमा रहेको छ। चेल्सी जारी सिजनमा सातौँ पटक पराजित हुँदा १२ खेलमा विजयी भएको छ। चेल्सीको ४३ अंक छ। लिगको तेस्रो स्थानमा अरहेको लिभरपुलको ४२ अंक छ। लिभरपुलले चेल्सी र सिटी भन्दा २ कम खेल खेलेको छ।

