एजेन्सी – म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कम्तिमा ४२ वर्षको उमेर सम्म फुटबल खेल्ने आफ्नो योजना रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रोनाल्डोले ४२ वर्षको उमेर सम्म फुटबल खेल्ने लक्ष्य रहेको बताएका हुन्।
ईएसपीएनसँग कुराकानी गर्नेक्रममा रोनाल्डोले ४२ वर्ष सम्म खेल्ने पक्षमा आफू रहने बताए। त्यो भन्दा महत्वपूर्ण कुरा हालको अवस्थाको भरपुर मज्जा लिने पक्षमा आफू हुने रोनाल्डोको भनाई छ।
“४०, ४१, ४२ वर्ष सम्म खेल्न सक्छु कि सक्दिन भन्ने प्रश्न म भित्र छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो म हालको अवस्थाको भरपुर मज्जा लिन चाहन्छु।”,रोनाल्डोले भने। रोनाल्डोले खेल जीवनको अन्त्य सम्म पनि उच्च स्तरमा रहेर फुटबल खेल्ने आफ्नो चाहना रहेको सुनाए।
उनले भने,”उच्च स्तरमा रहेर फुटबल खेल्ने लक्ष्य सहित अगाडी बढ्नु सहज कुरा होइन, तैपनि म केहि वर्ष देखि त्यसैमा केन्द्रित छु। म काम गरिरहेको छु र मेरो दिमागलाई पनि राम्रो काममा केन्द्रित गर्ने प्रयास गरिरहेको छु। मलाई थाहा छ मेरो शरीरले मलाई सम्हाल्नेछ किनभने म आफ्नो शरीरको धेरै सम्मान गर्छु र म यसलाई धेरै सुन्छु।”
अन्तर्वार्ताका क्रममा रोनाल्डोले आफू ३० वर्षको मात्रै भएको जस्तो लाग्ने पनि बताए। रोनाल्डोले आफू शरीरको धेरै ख्याल गर्ने व्यति रहेको उल्लेख गरे। लामो समय सम्म उच्च स्तरमा खेल्न सकेकोमा आफू सन्तुष्ट रहेको रोनाल्डोले बताए।
“लामो समय सम्म राम्रो प्रदर्शन गर्दै उच्च स्तरमा खेलिरहन सक्दा म खुशी छु। भन्नु नै पर्दा मलाई म ३० वर्षको मात्र छु जस्तो लाग्छ। म मेरो शरीर र मेरो दिमागको धेरै ख्याल राख्छु।”,रोनाल्डोले थपे।

