एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लब र लिभरपुल बीचको प्रतिष्पर्धा विश्वकै उत्कृष्ट रहेको बताएका छन्। पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा ग्वार्डिओलाले सिटी र लिभरपुल बीचको प्रतिष्पर्धा निकै नै उत्कृष्ट रहेको बताएका हुन्।
पछिल्ला वर्षहरुमा सिटी र लिभरपुल बीच भएको प्रतिष्पर्धालाई उनले असाधारणको संज्ञा दिए। प्रिमियर लिगको स्तर सिटी र लिभरपुल बीचको प्रतिष्पर्धाले माथि उठाएको भन्ने संकेत उनको थियो। ग्वार्डिओलाले दुई क्लबको जस्तो प्रतिष्पर्धा बेलायतमा पहिला नदेखिएको पनि बताए।
“विगत तीन वा चार वर्षमा हामीले जे गरिरहेका छौँ, त्यो एकदमै असाधारण छ। यस्तो प्रतिष्पर्धा पहिला कहिल्यै देखिएको थिएन। अहिले पहिला जस्तो ७८-८० अंकले च्याम्पियन बन्न सकिँदैन। अहिले यस्तो प्रतिष्पर्धा छ कि च्याम्पियन बन्न ९८ अंक बनाउनुपर्छ।”,ग्वार्डिओलाले भने।
लिभरपुल र म्यानचेस्टर सिटी बीचको प्रतिष्पर्धालाई ग्वार्डिओलाले बार्सिलोना र रियल म्याड्रिड जस्तै रहेको पनि बताए। गएको पाँच वर्ष देखि सिटी र लिभरपुल एक अर्कालाई कडा टक्कर दिरहेको ग्वार्डिओलाको भनाई छ।
उनले भने,”मलाई लाग्छ अन्य प्रतिष्पर्धीहरु चेल्सी, युनाइटेड, टोटनह्यामले राम्रो प्रदर्शन गरे पनि लिभरपुल र सिटी जस्तो खेलिरहेका छन्, त्यो संसार भन्दा बाहिर छ। लगातार ६ सिजन देखि हामी सँगै छौँ, एक अर्कालाई टक्कर दिरहेका छौँ, यसमा मलाई गर्व छ।”

