धनुषा – नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।
आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।
खुसियालीमा दीपप्रज्वलन
प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश भएको खुसियालीमा आज साँझ जनकपुरधामसहित प्रदेश २ को आठवटै जिल्लामा दीप प्रज्वलन गर्ने तयारी भएको छ ।
जनता समाजवादी, माओवादी केन्द्र र लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ताहरूको अगुवाइमा जनकपुरधामसहित मुख्य सहरहरूमा दीप प्रज्वलन गर्ने तयारी भएको छ ।
चार वर्षपछि भए पनि प्रदेशको नाम र राजधानी टुङ्गो लगाएकामा खुसी भएका स्थानीयवासीले समेत घरघरमा दीपावली गरेका छन् ।

