फिफाले दियो रोनाल्डोलाई विशेष अवार्ड !

एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले फिफाबाट विशेष अवार्ड प्राप्त गरेका छन् ।

फिफाले रोनाल्डोलाई पुरुषतर्फ देशबाट सर्वाधिक गोलकर्ता (११५) भएका कारण विशेष अवार्ड प्रदान गरेको हो । उनले यसै वर्ष इरानका अली दाईको नाममा रहेको १०९ गोलको कीर्तिमानलाई तोड्दै आफ्नो नाममा लेखाएका थिए ।

‘यो सपना हो ।’ रोनाल्डोले भने, ‘सबैभन्दा पहिले, मैले गत २० वर्षमा राष्ट्रिय टोलीमा खेल्ने मेरो टोलीका साथीहरुलाई धन्यवाद भन्न चहान्छु । कीर्तिमान १०९ थियो, ठीक छ । ६ गोलले अगाडि छु । मलाई धेरै गर्व छ । यो फिफाबाट विशेष पुरस्कार हो । जुन संस्थालाई म धेरै सम्मान गर्छु ।’

‘मैले मेरो परिवारलाई पनि धन्यवाद दिन चहान्छु । छिट्टै म फेरि बुबा बन्नेछु । गर्व छ । सबै समयको सर्वाधिक गोलकर्ता बन्न पाउनु ठुलो कुरा हो । ममा अझैपनि खेल र गोल गर्ने जोश छ । म पाँच वर्षको उमेरदेखि नै फुटबल खेल्छु, जब म पिचमा जान्छु, प्रशिक्षणमा पनि मेरो हौसला अझै छ ।’

‘३७ वर्ष पुग्दैछु । म कडा परिश्रम गरिरहन्छु । मलाई खेल मनपर्छ र जोश छ । म यसलाई जारी राख्न चहान्छु । यो सबै मानसिक हो । यदि तपाईले आफ्नो शरीरलाई राम्रोसँग ख्याल गर्नुभयो भेने तपाईलाई जे चाहिन्छ, त्यो फिर्ता पाउनु हुनेछ ।’

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८०९:४९

विशेष अवार्ड जितेपछि रोनाल्डोले भने – ‘थप उर्जा मिलेको छ, पोर्चुगललाई विश्वकप पुर्याउँछु’