एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले युवा स्टार किलियन एम्बाप्पेलाई छोटो अवधिका लागि सम्झौता थप गर्न राजि गराउने प्रयास गर्ने भएको छ। एम्बाप्पेले सम्झौता थप गर्न नमानेसँगै पिएसजीले कम समयका लागि मात्र सम्झौता थप गर्न एम्बाप्पेलाई आग्रह गर्ने भएको हो।
पिएसजीमा एम्बाप्पेको सम्झौता यस सिजनको अन्त्य सम्मको लागि मात्रै छ। एम्बाप्पे अग्रिम सम्झौताका लागि उपलब्ध भइसकेका छन्। हालको अवस्थामा एम्बाप्पेसँग विश्वका जुनै पनि क्लबले अग्रिम सम्झौता गर्न सक्छन्।
पिएसजीले गएको एक सिजन भन्दा बढी समय देखि एम्बाप्पेलाई सम्झौता थप गर्न लगातार दबाव दिरहेको छ। तर एम्बाप्पेले पिएसजीको तर्फबाट आएका सम्पूर्ण प्रस्तावहरुलाई अस्विकार गर्दै आएका छन्। एम्बाप्पेले दिर्घकालिन रुपमा पिएसजीमा बस्न नचाहेको बुझेसँगै पिएसजीले अब योजना परिवर्तन भएको छ।
पिएसजी एम्बाप्पेलाई धेरै समयका लागि सम्झौता थप गर्न भन्दा पनि छोटो समयका लागि सम्झौता थप गर्न फकाइरहेको छ। खबरमा आएअनुसार पिएसजी एम्बाप्पे कम्तिमा अब एक सिजन क्लबमा रहुन् भन्ने चाहन्छ।
एम्बाप्पे आउने समर ट्रान्सफर विन्डोमा निशुल्क अन्य क्लबमा जान पाउनेछन्। त्यहि कारणले गर्दा पिएसजी छोटो अवधिका लागि सम्झौता थप गरेर फ्री ट्रान्सफर रोक्न चाहन्छ।
सम्झौता थपका लागि पिएसजीले एम्बाप्पेको परिवारसँग कुराकानी अगाडी बढाइसकेको छ। एम्बाप्पेको परिवारले पनि उनी केहि समय पिएसजीमै रहुन् भन्ने चाहेको बताइन्छ। केहि समय अगाडी एम्बाप्पेको परिवारले पिएसजीलाई एम्बाप्पे फ्री ट्रान्सफरमा अन्यत्र नजाने बचन दिएको खबर आएको थियो। त्यस खबरलाई मान्ने हो भने एम्बाप्पे छोटो अवधिको सम्झौताका लागि तयार हुनेछन्।

