एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेज एट्लेटिको मड्रिडमा अन्तिम समय बिताइरहेका छन्। त्यहाँ उनको सम्झौता लगभग ६ महिनाको लागि मात्र बाँकी छ। सुआरेज सन् २०२० मा बार्सिलोनाबाट एट्लेटिको पुगेका थिए।
एट्लेटिको लालिगा च्याम्पियन बन्दा सुआरेजले गत सिजन धेरै नै राम्रो प्रदर्शन गरेका थिए। सोक्रममा उनले २३ गोल गरेका थिए भने ३ असिस्ट दिएका थिए। बार्सिलोना र रियल म्याड्रिड जस्ता क्लबलाई पछि पारेर एट्लेटिको च्याम्पियन बन्दा उनको भूमिका धेरै नै महत्वपूर्ण थियो।
तर जारी सिजनमा भने सुआरेजले तयारी राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। जारी सिजनमा उनले लालिगाका कुल १९ खेल खेल्दा ७ गोल गरेका छन् भने १ असिस्ट दिएका छन्। स्पेनिस मिडियाहरुका अनुसार सुआरेजले एट्लेटिकोमा सम्झौता थप गर्ने सम्भावना अत्यन्त न्यून छ। सम्झौताको अन्तिम ६ महिनामा रहेका सुआरेजको सम्झौता थप गर्न न त क्लबले चासो देखाएको छ, न त सुआरेज नै सम्झौता थप गर्न इच्छुक देखिन्छन्
प्रिमियर लिग फिर्ता ?
पछिल्लो चर्चाक अनुसार सुआरेज प्रिमियर लिग फिर्ता हुन सक्छन्। एट्लेटिकोमा सम्झौता थप नहुने भएसँगै सुआरेज प्रिमियर लिग फिर्ता हुन चाहेको बेलायती मिडियाहरु दावी गरिरहेका छन्। बेलायती मिडियाहरुले गरेको दावी अनुसार सुआरेज आफ्नो पूर्वक्लब लिभरपुलमा भने फिर्ता हुने छैनन्। सुआरेज उनका पूर्व सहकर्मी स्टेभेन जेरार्ड प्रशिक्षक रहेको क्लब एस्टन भिल्ला जान सक्नेछन्।
सुआरेज र जेरार्डले दुवै लिभरपुलका पूर्व खेलाडी हुन्। सुआरेज अझै सक्रिय फुटबल खेलाडी रहेपनि जेरार्ड भने अहिले भिल्लाको जिम्मेवारी सम्हालिरहेका छन्। लिभरपुलमा हुँदा सुआरेजले १ सय १० खेलमा ६९ गोल गरेका थिए। यस्तै सुआरेजको नाममा ३९ असिस्ट पनि छ।
जेरार्डकै कारण केहि समय अगाडी मात्र भिल्लाले बार्सिलोनाका फिलिपे काउटिन्होलाई लोनमा भित्र्याएको थियो। काउटिन्हो पनि जेरार्डसँगै खेलेका खेलाडी हुन्। जेरार्डले काउटिन्होलाई जस्तै सुआरेजलाई पनि लोनमा अनुबन्ध गर्न चाहेको बताइन्छ।
सो विषयमा सुआरेज र जेरार्ड बीच कुराकानी समेत भइसकेको बताइन्छ। छलफल पछि सुआरेज भिल्ला जान इच्छुक भएको अनुमान छ। जसकारण उनी अहिले अन्य क्लबबाट आएका प्रस्तावहरु अस्विकार गरिरहेका छन्।

