एजेन्सी – प्रिमियर लिगमा बुधबार राति म्यानचेस्टर युनाइटेडले ब्रेनफोर्डको सामना गर्दैछ। पछिल्लो समय कम्जोर प्रदर्शन गरिरहेको युनाइटेडले ब्रेनफोर्डको सामना गर्न लागेको हो। खेल ब्रेनफोर्डको घरेलु मैदानमा हुनेछ।
बुधबार राति हुने खेल युनाइटेडका लागि धेरै नै महत्वपूर्ण हुनेछ। पछिल्ला ५ खेलमा मात्रै १ जित निकालेको युनाइटेड जसरी पनि जित निकाल्ने दाउमा हुनेछ। ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा ब्रेन्टफोर्डले युनाइटेडलाई स्तब्द पार्ने प्रयास गर्नेछ।
युनाइटेड शिर्ष चारमा पर्दै च्याम्पियन्स लिगका लागि छनौट हुने अभियानमा छ। ब्रेनफोर्ड विरुद्धको खेलमा जित निकाल्न सके मात्रै युनाइटेड च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना बाँकी रहनेछ।
युनाइटेड प्रिमियर लिगको सातौं स्थानमा छ। सिजनका २० खेल खेल्दा युनाइटेडले मात्रै ९ खेलमा जित निकालेको छ भने ६ खेलमा हार बेहोरेको छ। त्यस्तै ५ खेलमा भने युनाइटेड बराबरीमा रोकिएको छ। युनाइटेडको ३२ अंक छ।
ब्रेनफोर्ड भने प्रिमियर लिगको १४ औं स्थानमा छ। सिजनका २१ खेलिसक्दा उसले मात्रै ६ खेलमा जित निकालेको छ भने १० खेलमा हार बेहोरेको छ। ब्रेनफोर्डले ५ खेलमा बराबरी खेलेको छ।
रोनाल्डो खेल्ने सम्भावना कति ?
युनाइटेडका मुख्य खेलाडी मध्ये एक रहेका क्रिस्टियानो रोनाल्डो पछिल्ला दुई खेल देखि युनाइटेडको टोलीबाट बाहिर छन्। कम्मरमा समस्या देखिएपछि रोनाल्डो युनाइटेडको टोलीमा नपरेका हुन्। एस्टन भिल्ला विरुद्ध प्रिमियर लिगको खेल अगाडी नै युनाइटेडका प्रशिक्षक राल्फ रङ्गनिकले रोनाल्डोको कम्मरमा सामान्य समस्या देखिएको बताएका थिए।
बताइएअनुसार सो समस्याबाट मुक्त भएर रोनाल्डो प्रशिक्षणमा सहभागी भइसकेका छन्। ब्रेनफोर्ड विरुद्धको खेलमा रोनाल्डो खेल्ने उच्च सम्भावना छ। खेल अगाडी पत्रकारहरुसँग कुराकानी गर्दै रङ्गनिकले सबै ठीक गएको खण्डमा रोनाल्डो खेल्ने बताए।

