३७ पुगिसकेका रोनाल्डो भन्छन् – ‘अझै ५ वर्ष खेल्छु’

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले ३७ वर्ष पुगेपनि अझै ४-५ वर्ष खेल्ने इच्छा रहेको बताएका छन् ।

रोनाल्डोले यसै साता फिफा द बेस्ट अवार्डमा फिफाबाट बेस्ट विशेष अवार्ड प्राप्त गरेका थिए । गत वर्ष सेप्टेम्बरमा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएसँगै रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको हो । रोनाल्डोले इरानका अली देइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमान तोडेका थिए । हाल रोनाल्डोको नाममा १ सय १५ गोल रहेको छ ।

रोनाल्डोलाई कार्यक्रमका दौरान संचालक जर्मेन जिनसले खेललाई लिएर उनको धारणाबारे सोधेका थिए । रोनाल्डोले आफू युवा हुँदा फुटबलप्रति जस्तो भाव थियो, अहिले पनि त्यस्तै रहेको बताए । उनले आफू अझै ४-५ वर्ष खेल्ने इच्छा रहेको पनि बताए ।

‘मसँग अझैपनि फुटबलप्रति उत्तिकै मोह छ । गोल गर्ने मात्र होइन । म आफै यसमा रम्न चाहन्छु किनकि मैले ५-६ वर्षको उमेरदेखि खेल्दै आएको छु ।’

‘म प्रशिक्षणका लागि मैदानमा जाँदा पनि उत्तिकै मजा लिन्छु । म भित्र अझैपनि त्यो मनोबल छ । म उमेरले ३७ वर्ष पुग्न लागें तर अझै राम्रो महसुस गरिरहेको छु ।’

‘म सधैं कडा मिहिनेत गर्छु । १८ वर्षदेखि निरन्तर त्यहि गरिरहेको छु । मलाई कसैले कति वर्ष खेल्छ भनेर सोध्नुहुन्छ भने म अझै ४-५ वर्ष खेल्न चाहन्छु ।’

‘यो सब मानसिक रुपमा तयार भएर हो । शारीरिक रुपमा तपाईं आफ्नो शरीरलाई ध्यान दिनुहुन्छ भने त्यसले पक्कै फाइदा दिन्छ । त्यसैले म यसमा ध्यान पुर्याउँछु ।’

रोनाल्डोले प्रिमियर लिगमा फर्केयता २२ खेलमा १४ गोल गरेका छन् । रोनाल्डोको व्यक्तिगत प्रदर्शन सन्तोषजनक रहेपनि उनले आफ्नो टोलीको वर्तमान लयलाई लिएर भने असन्तुष्टि पोखेका थिए । हाल लिगको सातौं स्थानमा रहेको युनाइटेडले कम्तिमा लिगमा शीर्ष ३ स्थान हासिल गर्नुपर्ने उनको बुझाइ छ ।

प्रकाशित : बुधबार, माघ ०५, २०७८२१:०७

रोनाल्डोको जादू नचलेपनि चम्किए ब्रुनो, म्यानचेस्टर युनाइटेडको सहज जित !