एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको दुई असिस्टमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमासहज जित निकालेको छ । युनाइेटडले घरेलु टोली ब्रेन्टफर्डलाई ३–१ ले पराजित गरेको हो ।
ब्रेन्टफर्डको मैदानमा युनाइटेडको जितमा एन्थोनी इलांगा, मासन ग्रीनवुड र मार्कस रासफोर्डले गोल गरे । घरेलु टोलीका इभान टोनीले एक गोल फर्काए । सबै चारै गोल दोस्रो हाफमा भएको थियो ।
ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोली ब्रेन्टफर्डल पहिलो हाफमा युनाइटेडलाई रोकेपनि दोस्रो हाफमा रोक्न सकेन ।
५५औं मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । उनले फ्रेडको पासमा हेडरमार्फत गोल गरेका थिए । ६२औं मिनेटमा मासन ग्रीनवुडले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
७७औं मिनेटमा ब्रुनोकै पासमा रासफोर्डले गोल गर्दै युनाइटेडको जित पक्का गरे । ८५औं मिनेटमा इभान टोनीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि गोल निस्कन नसक्दा युनाइटेड विजयी हुन सफल भयो ।
यो जितसँगै युनाइटेड २१ खेलबाट ३५ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ । पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १४औं स्थानमै यथावत रहेको छ ।

