जनकपुरधाम : सार्वजनिक मञ्चबाटै ‘न-रसं-हार’को धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबले मिल्दैन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव यस्तै हिं-सात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन्। त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।
रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएकी थिइन्। त्यसका लागि उनलाई घेराबन्दी गरी ह-त्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन्। निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर ह-त्या फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन्।
मन्त्री यादवको भनाइलाई लिएर देशव्यापी विरोध तीव्र भएको छ। यसले कानुनी राज्यको उपहास गरेको, ह-त्या–हिं-सालाई प्रश्रय दिएको, शान्ति प्रक्रियामा गइसकेको शक्तिलाई बिथोलेर समाजमा अशान्ति ल्याउने वातावरण निम्त्याएको बुद्धिजीवीहरूको ठम्याइँ छ। नागरिक समाजका अगुवा र बुद्धिजीवीहरूले मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गरेका छन्।
विभिन्न राजनीतिक दलका नेताहरूले पनि मन्त्री यादवको भनाइमा घोर आपत्ति जनाएका छन्। ‘हामी संसदीय पार्टीको पद्धतिमा छौं। यसमा कुनै नेता वा कार्यकर्तालाई यो छुट छैन कि कुनै पनि मञ्चको प्रयोग गरि कसैलाई ज्यान मार्नेसम्मको धम्की देओस्,’ लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल भन्छन्, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिले आत्मालोचित भई माफी माग्नुपर्छ।’

