एजेन्सी – बार्सिलोनाका डच स्ट्राइकर लुक डे जोङले बार्सिलोनामै रहन चाहेको खुलासा भएको छ। डे जोङ आफैंले बार्सिलोनामा रहन चाहेको स्पष्ट पारेका हुन्। एक अन्तर्वार्ताका क्रममा डे जोङले सकेसम्म आफू बार्सिलोनामै रहने पक्षमा रहेको बताए।
अन्तर्वार्तामा लुक डे जोङले बताएअनुसार उनलाई बार्सिलोना शहर धेरै नै मन परेको छ। उनलाई बार्सिलोना छाड्न मन नै छैन। सेभियाबाट लोनमा बार्सिलोना आइपुगेका उनी लोन सम्झौतालाई पूर्ण सम्झौतामा परिणत गराउने पक्षमा समेत रहेका छन्।
“म लगभग ६ महिना देखि परिवारसँगै यो शहरमा छु। मलाई अब फेरी शहर परिवर्तन गर्नु छैन। मलाई जसरी हुन्छ यहाँ नै बस्नु छ। हुन त मेरो सम्झौता सेभियासँग छ। तैपनि म यहाँ नै बस्न चाहन्छु।”,अन्तर्वार्ताका क्रममा उनले भने।
लुक डे जोङ वैकल्पिक खेलाडीको रुपमा बेन्चमै बस्न परेपनि बार्सिलोनामै रहने पक्षमा छन्। बार्सिलोनाको सब्स्टिट्युट बनेर बस्न परेपनि आफूलाई खासै फरक नपर्ने लुक डे जोङको भनाई छ।
उनले भने,”म अब फेरि शहरहरू परिवर्तन गर्न चाहन्न। यदि म नियमित सब्स्टिट्युटको रुपमा बस्न परेपनि तयार छु। मेरो सम्झौता सेभियासँग अर्को सिजनको अन्त्य सम्म छ। तर बार्सिलोनामै रहने मेरो चाहना छ।”
बार्सिलोनासँग विकल्प
बार्सिलोनाले लुक डे जोङलाई यसै सिजन लोनमा ल्याएको हो। सेभिया र बार्सिलोना बीच भएको सहमति अनुसार बार्सिलोनाले चाहेको खण्डमा लुक डे जोङलाई क्लबमै राख्न सक्छ।

