एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले आफ्ना स्टार पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई यो सिजनको अन्त्यसँगै बिक्रि गर्नेबारे सोच्ने अवस्था आएको छ ।
बायर्नसँग लेवान्डोस्कीको सम्झौता सन् २०२३ को जुनसम्म रहेको छ । सम्झौता सकिन एक बर्ष बाँकी हुँदा क्लबले नयाँ सम्झौताका लागि थप एक बर्षको प्रस्ताव गर्ने योजना बनाएको छ । बायर्नमा ३० बर्षभन्दा माथि पुगेका खेलाडीको सम्झौता एक बर्ष मात्र थप गर्ने प्रचलन रहँदै आएको छ ।
त्यही प्रचलन अनुसार क्लबले लेवान्डोस्कीलाई एक वर्षको प्रस्ताव गरेपनि त्यसलाई लेवान्डोस्कीले अस्विकार गरेको द बिल्डले जनाएको छ ।बिल्डका अनुसार बायर्न लगातार दोस्रो वर्ष फिफा द बेस्ट अवार्ड जितेका ३३ वर्षीय लेवान्डोस्कीलाई सोही पारिश्रमिकमा एक वर्षको नविकरण वा पारिश्रमिक कटौती गर्न सहमत भएमा दुई वर्षको सम्झौता प्रस्ताव गर्न इच्छुक छ ।
लवान्डोस्कीले सम्झौता नविकरण नगरे युरोपका ठुला क्लबहरु उनलाई अनुबन्ध गर्न इच्छुक हुनेछन् । क्लबका निर्देशक ओलिभर कान, कार्ल हेन्ज र हसन सालिहामिडजिकले लेवान्डोस्कीको भविष्य छिट्टै स्पष्ट हुने बताएका छन् ।
बायर्नले लेवान्डोस्कीको विकल्पमा बोरुसिया डर्टमुन्डका एर्लिङ ब्राउट हालान्डलाई अघि सारेको छ । ट्रान्सफर मार्केटमा लेवान्डोस्कीको बजार मुल्य अहिलेपनि ५० मिलियन युरो रहेको छ । यो युरोपका ठुला क्लबका लागि लेवान्डोस्की जस्ता गोल मेसिन खेलाडीका लागि ठुलो रकम हुनेछैन ।
लेवान्डोस्कीले आफ्नो भविष्यको बारेबाट पन्छिदै अहिले यसबारे सोच्ने बेला नभएको बताएका छन् । ‘जब तपाईं मैदानमा प्रदर्शन देखाउनुहुन्छ, तपाई जुन स्तरमा खेलेपनि केही फरक पर्दैन ’ लेवान्डोस्कीले भने, ‘म अन्य क्लबहरु वा नयाँ सम्झौताको बारेमा धेरै सोच्न सक्दिन । मैले खेलमै ध्यान केन्द्रित गरिरहनुपर्छ । आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्छ, त्यो नै मेरो दिमागमा हुनेछ । म एक अनुभवी खेलाडी हुँ । म धैर्य र शान्त रहन्छु ।कुनै तनाव लिन्न।’
उनले आफ्नो बोरुसिया डर्टमुन्डका समकक्षी हालान्डको बारेमा पनि कुरा गर्दै उनको प्रदर्शनको प्रशंसा गरे । ‘एर्लिङ म भन्दा फरक किसिमका खेलाडी हुन् । यो स्पष्ट छ, ’ लेवान्डोस्कीले प्रशंसा गर्दै भने, ‘उ एक शीर्ष खेलाडी हो र म खुशी छु कि उनले पनि बुन्डेसलिगामा खेलिरहेका छन् । उनले आफू कति राम्रो भनेर मैदानमा देखाएका छन् ।’

