एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगको उपाधि दौड नसकिएको बताएका छन्। धेरै समयपछि प्रिमियर लिगमा दुई अंक गुमाएपछि ग्वार्डिओलाले प्रिमियर लिगको उपाधि दौड सकिनसकेको बताएका हुन्।
शनिबार राति सिटी साउथह्याम्टनसँग बराबरीमा रोकिन पुगेको थियो। खेलको शुरुवातमै पछाडी परेको सिटीले हार टार्न धेरै नै मिहिनेत गर्न पर्यो। सातौँ मिनेटमा गोल बेहोरेपछि सिटीले ६५ औं मिनेटमा मात्रै बराबरी गोल फर्काएको थियो।
खेलको अन्त्य सम्म अर्को गोल गर्न नसक्दा सिटीले दुई अंक गुमायो। प्रिमियर लिगका खेलहरुमा सिटीले गएको अक्टोबर ३० देखि एक अंक पनि गुमाएको थिएन।
साउथह्याम्टनसँग बराबरीमा रोकिएपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा ग्वार्डिओलाले उपाधि दौड छिट्टै नसकिने दावी गरे। दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा केहि अंकले अगाडी हुँदैमा उपाधि दौड नसकिने उनको भनाई छ। सिटीको निकटतम प्रतिद्वन्दी लिभरपुलको ४५ अंक छ भने सिटीको ५७ अंक छ। यस हिसाबले सिटी १२ अंकले अगाडी छ। तर लिभरपुलले सिटी भन्दा २ खेल कम खेलेको छ।
“उपाधि दौड सकिएको छैन। सकारात्मक कुरा यो हो कि मानिसहरूले उपाधि दौड सकिएको छैन भन्दा हामीलाई नै फाइदा हुन्छ, दबाव कम पर्छ।”,उनले भने,”किनभने यो समाप्त भएको छैन। दुई हप्ता अगाडी उपाधि दौड सकिएको थिएन, अहिले सकिएको छैन र दुई तीन हप्ता पछि पनि सकिएको हुने छैन।”
ग्वार्डिओलाले आउने खेलहरुलाई गम्भीरताका साथ लिएर अगाडी बढ्ने पक्षमा आफूहरु रहेको पनि सुनाए। कठिन भन्दा कठिन खेलहरु खेल्न बाँकी रहेको उनको भनाई छ।

